१६ चैत्र २०८०, शुक्रबार

मतपत्र च्यातियो कांग्रेस सप्तरीको चुनावमा, चुनाव स्थगित

saptari congress

नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको छ । रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।

सहज रूपमा ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको थियो । मतपत्र च्यातेर दुवै पक्षबीच बिवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान रोकिएको हो ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको आरोप लगाए । विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको जनाइएको छ ।