१४ बैशाख २०८१, शुक्रबार

राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्रीले महागल्ती गरे, सूर्य थापालाई बर्खास्त गर्न माग

Sudan kiraty

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको पद र जिम्मेवारीबाट बर्खास्त गरिनुपर्ने बताउँदै जनयुद्धलाई स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन चुनौती दिएका छन्।

सांसद् किरातीले सूर्य थापालाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले महागल्ती गरेको टिप्पणी गरेका छन् । साथै उनले थापालाई जिम्मेवारीबाट मुक्त गर्न पनि माग गरेका छन् ।

साथै उनले ‘जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाउँदै शोषणका निम्ति पार्टी एकता गरेको हो ?’ भनि प्रश्नसमेत गरे। जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति थापाले दिएका थिए ।

शनिबार बिहान राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट किरातीले थापालाई त्यसको जवाफ फर्काउँदै कारबाही गर्ने माग गरेका छन् । उनले भने– यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो रु जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’

किरातीले जनयुद्ध स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन पनि थापालाई चुनौती दिए । ‘सूर्य थापा मालिक र जनता दास हो ? जनयुद्धलाई इन्कार गर्ने हो भने सूर्य थापाले पार्टी फुटाएर देखाए हुन्छ’, उनले भने, ‘सूर्य थापासँग मात्र होइन, अब यो विषय पार्टी र प्रधानमन्त्रीसँग पनि जोडिन्छ ।’

राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर प्रधानमन्त्रीले गल्ती गरेको भन्दै उनले मार्फी माग्नुपर्ने बताए । त्यसो नगरे देश, सरकार र पार्टीले गम्भीर क्षति व्यहोर्ने भन्दै उनले अति नगर्न आग्रह गरे ।

पार्टीको निर्णयअनुसार नेकपाले विभिन्न कार्यक्रमहरु आयोजना गरि फागुन १ लाई २५ औं जनयुद्ध तथा जनआन्दोलनका सहिद स्मृति दिवसका रुपमा मनाइरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने जनयुद्धको भारी बोक्न र महिमा गाउनका लागि पार्टी एकता गरेको होइन भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।