१५ बैशाख २०८१, शनिबार

वुहानबाट फर्किएका नेपालीलाई अभिभावकसँग भेट्न नदिइने, श्रीमान् श्रीमतीलाई पनि छुट्टै राखिने

helth ministry office nepal

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चीनको वुहानबाट नेपाली ल्याउने तयारी पूरा भएको छ । स्वास्थ्य मन्त्रालयले नेपाली सेना, शहस्त्र प्रहरी, नेपाल प्रहरीसहित चिकित्सक टोलीको संयुक्त प्रयासमा वुहानबाट नेपालीलाई ल्याइने जनाएको छ ।

नेपालीलाई ल्याउनका लागि नेपाल एयरलाइन्सको विमान शनिबार जाने भएको छ । कोरोनाको संक्रमण अन्यत्र फैलन नदिन र वुहानबाट आएकाहरुको उपचारको ख्याल गर्दै उनीहरुलाई छुट्टै ठाउँमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वुहानदेखि काठमाण्डौसम्मको हवाइ यात्राका क्रममा, विमानस्थलमा, विमानस्थलदेखि क्वारेन्टाइनसम्म जाने क्रममा, हेल्थ डेस्कमा, क्वारेन्टाइनमा रहँदा के के कुरामा ध्यान दिने भन्ने विषय तयारी पूरा भएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।

दाहालका अनुसार नेपालीलाई लिन तालिमप्राप्त चारजना स्वास्थ्य कर्मीको टोली चीन जानेछ । हवाइजहाजबाट नेपाल आइसकेपछि विमानस्थलमा रहेको पाँच वटा हेल्थ डेस्कमा वुहानबाट ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण गरिनेछ ।

कसैलाई ज्वरो आए, शरीरमा तापक्रम बढेको पाइए वा रुघाखोकी लागे तयारी अवस्थामा राखिएका पाँच वटा एम्बुलेन्समार्फत सिँधै अस्पताल लगिनेछ । तर कुनै स्वास्थ्य समस्या नपाइए सिँधै क्वारेन्टाइनमा राखिने छ ।

तर क्वारेन्टाइनमा उनीहरुलाई तत्काल अभिभावकलाई भेट्न भने नदिइने सहप्रवक्ता दाहालले बताए ।

दाहालले भने यसबारे शुक्रबार अभिभावकसँग भएको भेटमा यसबारे अभिभावकलाई पनि जानकारी गराइएको छ । यो विषयमा अभिभावक पनि सकारात्मक देखिएका छन् ।

यसैबीच, सरकारले चीनबाट खरिपाटीमा ल्याउने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा राख्ने भएको छ । श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको ।

चिकित्सकको टोली अर्को ब्लकमा राखिने र विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालिम केन्द्रको भवनमा बनाइएको ब्लकमा राख्ने व्यवस्था गरेको छ ।