१९ बैशाख २०८१, बुधबार

रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल

jasapaa
फाइल फोटो

सरकार र जनता समाजवादी पार्टीबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको छ । जसपा नेता लक्षमणलाल कर्णले चौधरीको रिहाइको विषयमा छलफल गर्न आफूहरु बालुवाटार पुगेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकमा एमालेसँग सत्ता सहकार्य गर्न कार्यदल बनाएको भन्ने विषय उठेपछि कर्णले सत्ता सहकार्यका लागि नभई चौधरीको रिहाइको विषयमा कुरा भएको बताए ।

‘प्रधानमन्त्री ओलीका सल्लाहकार र नेताहरूले आफूहरू प्रधानमन्त्रीका प्रतिनिधि हौं । वार्ता गर्न आउनुस् भनेपछि गएका हौं । रेशम चौधरी लगायतका आन्दोलनका क्रममा जेलमा परेका नेता कार्यकर्ता रिहाइका लागि भनेर छलफल भएको हो,’ कर्णले भने ।

सत्ता सहकार्यबारे छलफल गर्न जसपामा कुनै कार्यदल गठन नभएको पनि कर्णले बताए । ‘सांसद रेशम चौधरीलाई छोडिदिनुस् भनेर सरकारको नेतृत्व गरिरहेको दलसँग वार्ता भएको हो । छलफलमा म र सर्वेन्द्रनाथ शुक्ल तथा नेकपा एमालेकातर्फबाट सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका सल्लाहकारहरू राजन भट्टराई र विष्णु रिमाल हुनुहुन्थ्यो,’ कर्णले भने, ‘हामी सोमबार दिउँसो गएका थियौं । सत्ता सहकार्यबारे केही भएको छैन । हामीले राखेका कुरा सुन्नुभयो र हामीले पनि सुन्यौं । उहाँहरूको कुरा सकारात्मक थियो ।