२६ बैशाख २०८१, बुधबार

राष्ट्रपतिद्वारा सल्लाहकार प्याकुरेलको राजीनामा स्वीकृत

susil pyakurel2

 राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले दिनुभएको राजीनामा राष्ट्रपति भण्डारीले आज स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई र दोस्रो कार्यकालमा करिब दुई वर्ष विज्ञ सल्लाहाकारको भूमिका निर्वाह गर्नुभएका प्याकुरेलले विज्ञप्ति जारी गरी राजीनामा गरेको जानकारी दिनुभएको थियो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजबुत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधिभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मितिदेखि राष्ट्रपतिको विज्ञ सल्लाहाकारको पदबाट राजीनामा दिएको छु”, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उहाँले राजनीतिक दल, गणतन्त्रलाई बलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाको प्रभावकारिता एवं सम्मान अभिवृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अङ्गमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात् गर्दै उच्च लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ भन्नेमा जोड दिनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सामाजिक न्याय र लोकतन्त्रका लागि विगत साढे चार दशकदेखि समर्पित व्यक्तिका हैसियतमा म आफ्नो मूल कर्तव्यप्रति सधैँ निष्ठावान रहँदै आएको छु, यसै क्रममा सुदृढ लोकतन्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न राजीनामा गरेको हुँ ।”