१५ चैत्र २०८०, बिहीबार

काङ्ग्रेसमा देखिएको आन्तरिक विवाद समाधान, १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने सहमति

nepali congress party office

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने पूर्व निर्णयलाई अनुमोदन गर्दै सहमति सहित टुंगिएको छ।

यसअघि विभिन्न चरणमा छलफल भए पनि शीर्ष नेताबीच सहमति हुन केको थिएन । बैठक सभापति निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म भएको थियो .

पार्टीको केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने, केन्द्रीय महाधिवेशन अघि विभिन्न तहका अधिवेशन तथा ती अधिवेशनका कार्यतालिका र कार्यविधिका सम्बन्धमा परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति भएको उपसभापति निधिले बताउनुभयो ।

बैठकमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका विषयमा पनि सहमति गरिएको छ ।

नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको केन्द्रीय समिति विघटन भएको दिनसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसङ्घको आगामी १२ औँ महाधिवेशनमा भाग लिन पाउने सहमति भएको छ । साथै तदर्थ समितिमा बस्ने पदाधिकारी र सदस्य नेविसङ्घको आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन् ।

सहमति भएका यी सबै प्रस्ताव काँग्रेसको यही माघ १३ गते बस्ने केन्द्रीय समिति बैठकमा सर्वसम्मतिबाट पारित गर्ने सहमति भएको उपसभापति निधिले जानकारी दिनुभयो ।

गत पुष ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद रहदै आएको थियो ।

सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, पार्टीको विभिन्न तहका अधिवेशन गर्ने कार्यतालिका र विधानका केही दफा निलम्बन गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्नेलगायतका निर्णय गरेको थियो ।

सभापति देउवा निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का,पूर्व महामन्त्रीहरू प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौला, नेताहरू मीनेन्द्र रिजाल र लेखक सहभागी थिए।