२४ बैशाख २०८१, सोमबार

नेपाली काङ्ग्रेसले सूचना प्रविधि विधेयककाे विराेधमा देशैभरिबाट विराेधपत्र बुझाउँदै

nepali congress party office

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आज सरकारलाई विरोधपत्र बुझाउँदै छ।

७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् विधेयक सच्याउन माग गर्दै विरोधपत्र बुझाउन लागिएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। कांग्रेसले संविधान विपरीतका गतिविधि विरुद्ध पनि विरोधपत्र बुझाउन लागेको उनले जानकारी दिए।

गएको पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो। केन्द्रीय समिति बैठकले गत पुस २८ गते जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेपनि पार्टीको आन्तरिक किचलोका कारण हुन सकेको थिएन।

केन्द्रीय समितिले निर्धारण गरेको कार्यक्रम हुन नसकेपछि शुक्रबार बसेको संसदीय दलको बैठकले आज ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो। पार्टीको आन्तरिक विवाद चुलिएपछि संस्थापनइतर समूहनिकट जिल्ला सभापतिहरुको भेला काठमाडौंमा भएकाले त्यतिबेला ज्ञापनपत्र बुझाउन नसकिएको कांग्रेसले जनाएको छ।