१३ बैशाख २०८१, बिहीबार

अन्य दलसँगको तालमेल बाध्यकारी होइन, आवश्यकता: महामन्त्री शर्मा

Bishow prakash sharma
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावमा तालमेल बाध्यकारी नभएको बताउनुभएको छ । उहाँले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बुधवार बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताउनुभयो ।

‘चुनावमा अन्य दलसँगको तालमेल बाध्यकारी भने होइन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ’, शर्माले भन्नुभयो । उहाँले पार्टी केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले तालमेल गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन हुँदा भने साझा चुनावी घोषणापत्र बनाउनुपर्ने हुन्छ ।’ गठबन्धन हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने उहाँले दोहोर्‍याउनुभयो ।

नेता शर्माले कांग्रेसलाई धेरैजसो स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागिएको दाबी गर्नुभयो ।