११ बैशाख २०८१, मंगलवार

बिहीबार सत्ता गठबन्धन दलको बैठक बस्ने

gathabandhan

बिहीबार सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बिहीबार बिहान सत्तागठबन्धनको बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्नेछ।

सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो। बैठक बिहान साढे १० बजेका लागि बोलाएको उहाँले बताउनुभयो।

‘सत्ता गठबन्धनको बैठक बिहीबार बिहान साढे १० बजेको लागि बोलाइएको छ’, वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन्छ।’

सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ। मङ्गलबार सम्पन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ।