१४ बैशाख २०८१, शुक्रबार

परिवारसहित त्रिशूलीमा हामफालेका विनयविरुद्ध कर्तव्य ज्यान मुद्दा

dhading family case

काठमाडौंको चन्द्रागिरि नगरपालिका ५, थानकोट निवासी ३८ वर्षीय लामिछाने सामूहिक आत्महत्या गर्न भनेर गत बिहीबार साँझ २८ वर्षीया श्रीमती जमुना तथा ६ महिना र २ वर्षका दुई छोरासहित त्रिशूली नदीमा हामफालेका थिए।

परिवारसहित त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल काठमाडौं थानकोटका विनय लामिछानेविरुद्ध हत्याको मुद्दा लाग्ने भएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार उनीसँगै हामफालेका उनकी श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो।

धादिङको बेनिघाट रोराङ-१ स्थित झोलुंगे पुलबाट त्रिशूलीमा हामफालेका उनीहरूमध्ये श्रीमती जमुना त्यही दिन मृत भेटिइन् भने दुई बालक अझै बेपत्ता छन्।विनयलाई भने प्रहरीले जीवितै उद्धार गरेकाे थियाे। 

‘श्रीमती परिपक्व उमेरकी भएकाले उनका हकमा विनयविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने देखिए पनि दुई नाबालक छोराको त उनले सिधै हत्या गरेको देखिन्छ,’ आइतबार बिहान एसपी रेग्मीले नेपालखबरसँग भने, ‘श्रीमतीले पनि आत्महत्या नै गरेको भन्ने पछि पुष्टि भएपछि भने अर्कै कुरा, नत्र अहिले विनयले श्रीमती र दुई छोराको हत्या नै गरेको देखिन्छ।’

यसैकारण प्रहरीले विनय लामिछानेविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको एसपी रेग्मीले जानकारी दिए।

‘आज हामी विनयविरुद्ध अदालतबाट म्याद थप गर्दै छौं,’ उनले भने।