१८ बैशाख २०८१, मंगलवार

गायिका आस्था राउत माथी गम्भीर अनुसन्धान हुन्छ: मेट्रो प्रमुख पोखरेल

bishworaj Pokahrel Dd1U6HL3PV

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेपछी आस्थाले रिसको आवेगमा भिडियो बनाएकी थिइन । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । 

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानी पोखरीले गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुने जनाएको छ। मेट्रो प्रमुख विश्वराज पोखरेलले आस्था राउतले सामाजिक सञ्‍जालमा लाइभ गर्दै बोलेको विषयमा गम्भीर अनुसन्धान हुने बताएका छन्।

‘यो कुनै व्यक्तिविरुद्ध नभएर संस्थाकै बदनाम गरिएको विषय भएकाले प्रहरीले गम्भीरतापूर्वक लिएको छ’, पोखरेलले भने।

गायिका राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तल्लो दर्जाका प्रहरीबाट आफूविरुद्ध दुर्व्यवहार भएको भन्दै प्रहरी संगठन विरुद्ध नै आक्रोश व्यक्त गर्दै फेसबुक लाइभ गरेकी थिइन्। प्रहरी र संगठनविरुद्ध अपशब्द प्रयोग भएको पोखरेलले बताए।

‘दुर्व्यवहार भए उजुरी गर्ने ठाउँ छ तर कलाकार भन्दैमा संगठनलाई नै बदनाम गराउन पाइँदैन’, पोखरेलले भने। उनले सिसिटिभी फुटेज र सम्बन्धित प्रहरी अधिकारीलाई बोलाएर घटनाबारे छानबिन हुने बताए।

गायिका आसथा राउतले फेरि अर्को स्टाटस पोस्ट गरेकी छन् । स्टाटसमा उनले भनेकी छन् ”मेरो आवाज दुर्व्यवहार विरूद्व हो प्रहरी आर्मी वा प्रशासन विरूद्व होइन ।”

उनको स्टाटसमा अधिकाँश फलोअर्सको कमेन्ट हेर्दा उनकै कमजोरी भएको बताउनेहरू धेरै छन् । गायिका राउतको स्टाटसमा ‘दुवै जना उस्तै, आफ्नो मुल्याकंन आफैले गरेको सुहाएन, बोल्नै शैली मिलेन, कार्यरत प्रहरी र आस्थाको पारा उस्तै,’ जस्ता कमेन्ट आएको छ भने किटानी जाहेरी दिन बाटो रोजेको भए राम्रो हुन्थ्यो, बोलीमा सभ्यता भएको भए प्रवृतिको खण्डन गरेको सुहाउथ्यो र सहि गर्नुभयो जस्ता कमेन्ट पनि आएका छन् ।