१४ बैशाख २०८१, शुक्रबार

मकवानपुर क्याम्पसमा रिले अनशन शुरु, शुल्क वृद्धिको बिरोध

makawanpur multiple campus ansan

मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धिलगायतका निर्णयले विद्यार्थी मारमा परेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थी संगठनले शुल्क वृद्धि फिर्ता लिन माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र स्टाफ कक्षमा ताला लगाइदिएका छन् । सञ्चालक समितिलाई थप दबाब सिर्जना गर्न विद्यार्थी संंगठनहरुले क्याम्पसमा आजबाट रिले अनशन सुरु गरेका छन् ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका हुन् । क्याम्पसमा आज दिउँसो स्ववियु सभापति कुमार केसी, अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्यम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीले रिले अनशनको सुरुवात गरेका हुन् ।

शुल्कवृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने बताइएको छ । समितिको बैठकले मासिक  शुल्कमा ६५ प्रतिशत र भर्नामा सय प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ । प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गरेको थियो ।

७ वर्ष देखि शुल्क वृद्धि नगर्दा क्याम्पस घाटामा सञ्चालन भइरहेको भन्दै समितिले शुल्क वृद्धि गरेको जनाइएको छ । क्याम्पस वार्षिक रुपमा ४ करोड २० लाख घाटामा सञ्चालन भएको समितिको दाबी छ ।

यता विद्यार्थी संगठनले क्याम्पस घाटा रहेको नाममा विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क बृद्धि निर्णय मान्य नहुने बताएका छन् । शुल्क बृद्धिको निर्णयप्रति घोर भत्र्सना गर्दै तत्काल निर्णय नसच्याए थप आन्दोलनका कार्यक्रम गर्ने बिद्यार्थी संगठनले यसअघिनै प्रेश बिज्ञप्ति जारी गर्दै चेतावनी दिएका थिए ।

स्रोत : हेटौंडाखबर डट कम