१४ बैशाख २०८१, शुक्रबार

कुनै बेला प्रदेशको राजधानी हेटौंडा देशकै सफासहरको रुपमा परिचित अहिले फोहर व्यवस्थापनमा समस्या

phohor
फाइल फोटो

कुनै बेला बागमती प्रदेशको राजधानी हेटौंडा देशकै सफासहरको रुपमा परिचित थियो । पटकपटक सफा सहर भनेर पुरस्कृत समेत भएको हेटौडा अहिले भने कुरुप बनिरहेको छ । बढ्दो शहरीकरणका कारण हेटौँडामा फोहर व्यवस्थापन जटिल बन्न थालेको छ ।

घर, सहर र उद्योग कल कारखानाबाट निस्किएका फोहर व्यवस्थापन नहुँदा हेटौडामा केही वर्षयता चुनौती बनेको छ । हाल हेटौंडा उपमहानगरपालिका –१० स्थित राप्ती खोलाको किनारको सिसौघारीमा डम्पिङ साइड बनाइएको छ । तर निकै अव्यवस्थित गरी जताततै फोहोर फालिएको छ ।

वर्गीकरण नगरिएका फोहोर जताततै फालिंदा वरिपरी दुर्गन्ध त फैलिएको छ नै प्लास्टिक जन्य फोहरले वातावरणमा नराम्रो असर परेको छ ।

हेटौंडाको फोहर व्यवस्थापन गरिदै आएको डम्पिङ साइड भरिंदो अवस्थामा छ । हाल संकलन गर्दै आएको फोहर दिनहुँ एस्काभेटर लगाएर उपमहानगरपालिकाले पुर्ने काम गर्छ । तर, यसको विकल्प भने खोजिएको छैन । डम्पिङ साइडको नजिकै बसोबास गर्दै आएका स्थानीय फोहोरको गन्धको कारण आजित छन् ।

उपमहानगरपालिकाले गन्ध फैलन नदिन समेत कुनै चासो दिएको देखिंदैन । अर्को तर्फ सफाई कर्मचारी समेत निकै कम हुँदा हेटौंडा बजारमै समेत फोहोर संकलनमा चुनौती सुरु भएको छ ।

झण्डै २० बिघा जग्गामा अहिले जथाभावी रुपमा फोहोर थुपार्ने गरिएको छ । प्लास्टिक जन्य फोहोरको पहाड नै बनिसकेको छ । गत भदौमा उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन कार्यदल गठन भएको थियो । तर सबै कागजमै मात्र सिमित छ ।