१४ बैशाख २०८१, शुक्रबार

होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी

fire aago aaglagi jalera

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क नजिकैको होटेलमा बिहीबार दिउँसो आगलागी भएको छ । 

तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागी हुँदा पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।  

घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ ।

प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जनाएको छ ।

चक्कु प्रहारबाट हेटौंडामा एक जना गम्भीर घाइते

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कर्रापुल नजिकै अज्ञात व्यक्तिको चक्कु प्रहारबाट बुधबार राति एक युवक गम्भीर घाइते भएका छन् । स्थानीय २८ वर्षीय अजित लामा चक्कु प्रहारबाट घाइते भएका प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने युवक भने फरार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घाइते लामाको हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछि भरतपुर रिफर गरिएको छ ।

लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्नेको पहिचान भने भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।