२५ बैशाख २०८१, मंगलवार

घुसुकपुर टोलबाट अवैध २० किलो गाँजासहित पाँच जना पक्राउ

1 EaeV0sTMQE

२० किलो अवैध गाँजासहित बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले पाँच पक्राउ गरेको हो । 

स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो ।

सो क्रममा २० किलोग्राम गाँजासहित महागढीमाई नगरपालिका वडा नम्बर १ प्रतिमा देवी पटेल र करैयामाई गाउँपालिका वडा नम्बर १ का सफि अन्सारी, पचरौता नगरपालिका वडा नम्बर ३ का उपेन्द्र पटेल, सौखीलाल प्रसाद यादव र भारतीय नागरिक सेराज आलमलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणबाट एक जनाको निधन

बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक जनाको निधन भएको छ । हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको निधन भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए ।

जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको थियो । आक्रमणपछि घाइते भएकी रोकैदालाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको डीएसपी तिमिल्सेनाले जानकारी दिए ।

घटनास्थल अमलेखगन्ज आयल निगमको पछाडी भागमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा पर्छ ।

    सम्बन्धित समाचार...