१८ बैशाख २०८१, मंगलवार

चिसिँदो मौसम, गर्माउदो राजनीतिक वृत्त: ‘गैर–दलीय राष्ट्रपति’को बहस किन ?

1670938683 6bOVs

मौसम चिसिँदो छ । तर, राजनीतिक वृत्त गर्माउदो । ताजा जनादेशको सरकारबारे अनेक अड्कलबाजी भइरहँदा ‘गैर–दलीय राष्ट्रपति’को बहस छेडिएको छ । तर, खुलेर एजेण्डाको अपनत्व लिने कोही छैन । धेरैले यसलाई ‘बोकाइएको एजेण्डा’ ठानेका छन् । जसको उद्गम र अन्त्यमा चासो छ ।

तत्कालिन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा लामो संवाद गरेर गैर–दलीय राष्ट्रपतिको सन्दर्भ उठाउँदै आफैंलाई बनाउन आग्रह गरेको खबर सार्वजनिक भयो, बिहीबार ।

बिहीबारै दिउँसोतिर यसै सन्दर्भमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको पनि नाम जोडियो ।

त्यसपछि प्रयोगकर्ताले आफूलाई लागेका नाम सामाजिक सञ्जालमा लेखिरहेका छन् । अनुराधा कोइराला, सन्दुक रुइत, महावीर पुन, जगमान गुरुङ, केदारभक्त माथेमा, सुरेशराज शर्मा, निलाम्बर आचार्य आदि–आदि । लिष्टसँगै बहस पनि लम्बिदो छ ।

कसको कारणले वा किन गैर–दलीय राष्ट्रपति बनाउने लहर र लहड चलाइयो भन्ने चाहिँ खुलेको छैन् ।

सत्ता गठबन्धनका केही नेता, प्रधानमन्त्री शेरबहादुर देउवाले एकसाता अघि आफ्ना खास भित्रियासँग यसबारे प्रारम्भिक परामर्श गरेको ठान्छन् । तर, ति पनि यो देउवाकै एजेण्डा हो भन्नेमा विश्वस्त छैनन् । सत्ता साझेदार दलका केही नेता पनि पुष्टि गर्ने आधार क्रमशः खुल्ने भन्दै यसलाई दक्षिण–पश्चिमको एजेण्डा मान्छन् ।

प्रधानमन्त्री देउवाको भित्रिया खेमा त चर्चाको तरंगपछि गम्भीर परामर्शमै लागिसकेको बताइन्छ । तर, सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेता भने जानकारी छैन भन्दै टकटकिन्छन् । हावै नचली पात हल्लिएको पनि त होइन होला भनेर आशंका गर्ने उनीहरु चर्चाअनुसार चलखेल भएकै हो भने संभव छैन भन्छन् । संसदीय गणितमा कांग्रेसले मात्रै चाहेर केही नहुने उनीहरुको भनाइ छ ।

भावी गैर–दलीय राष्ट्रपति भन्दै चर्चा गरिएका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले त यसबारे टिप्पणी गर्नै चाहेनन् । ‘अफवाहको टिप्पणी के गर्नु रु’ भन्दै श्रेष्ठ आफूले पनि नखोजेको र कोही खोज्दै पनि नआएको बताए ।
रेग्मीले चाहिँ यो समाचार बनाउने विषय नै नरहेको भन्दै कुराकानी लम्ब्याउन चाहेनन् । उनले पनि ‘पत्रिकामा आएपछि मात्रै जानकारी पाएँ’ भने ।

दुबैको इन्कारी मात्रले ‘होइन रहेछ, हल्ला मात्र रहेछ’ भन्ने निश्कर्षमा पुगिहाल्न पनि हतार हुन्छ । किनकि, विश्वस्त स्रोत पाँच कारणले देउवा नै यसमा गम्भीर भएर लागिरहेका ठोकुवा गर्छ ।

पहिलो, कांग्रेसभित्रको किचलो । दोस्रो, वैदेशिक सुझाव । तेस्रो, अघिल्ला दुई राष्ट्रपतिको विवादित कार्यकाल । चौथो, वापमन्थीलाई रोक्ने प्रयास । र, पाँचौं, संसद विघटनका बेला न्याय क्षेत्रले लगाएको गुन फिर्ता । रेग्मीको नाम आउनुमा दोस्रो र श्रेष्ठलाई जोड्नुमा पाँचौं कारण ठानिएको छ ।

चुनावी नतिजा नआउँदै केही राजदूतले सुरु गरेको दौडधुप र नागरिकका तर्फबाट भन्दै पाँच भाइले बुधबार अपीलमार्फत् व्यक्त गरेको धारणाले गन्ध नआएपनि राजनीतिमा केही डढ्दै छ भन्ने संकेत चाहिँ गरेको थियो । जुन, गैर–दलीय राष्ट्रपतिको मुद्दामा प्रकट भएको ठान्ने ठूलै समूह छ ।