१४ बैशाख २०८१, शुक्रबार

‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

volleyball women cup pokhara
फाइल फोटो

कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् ।

वर्ष भरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबल लगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ ।

गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद प्रशिक्षण लगायतका गतिवधि सञ्चालन गर्ने निर्णय गरेपछि खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखरामा फागुन पहिलो साता ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिता हुने भएको छ ।

भलिबल खेलका माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित आगामी फागुन ४ देखि ८ गतेसम्म पोखरा रङ्गशाला भित्रको भलिबल कोर्टमा प्रतियोगिता गरिने सङ्घका जिल्ला अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको तयारी स्वरुप अहिले जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया सञ्चालन भइरहेको छ ।

उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितालार्ई लक्ष्य गरी प्रतिभावान भलिबल खेलाडी उत्पादन गर्ने तथा प्रदेशमा खेलकूद विकासको उद्देश्यले पहिलोपटक मुख्यमन्त्री कप गर्न लागेका हौँ । खेलाडी छनोट लगायत तयारीका काम भइरहेको छ ।”

प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान रु दुई लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी तृतीय टोलीले रु ५० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद रु पाँच-पाँच हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ले समेत रु पाँच हजारका दरले पुरस्कार पाउने छन् । गण्डकी प्रदेशको कास्की, स्याङ्जा, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङ र पर्वत गरी ११ वटै जिल्लाको प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ ।