१२ बैशाख २०८१, बुधबार

कक्षा १२ को परीक्षाफल सार्वजनिक

national examination board

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गरेको छ । आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान परीक्षाफल प्रकाशित गर्ने निर्णय गरे अनुसार आज बिहान नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

बैशाखमा लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको थियो । देशभरबाट परीक्षामा चार लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १ जनाको रद्ध भएको बोर्डले जनाएको छ ।

यस वर्ष सम्बन्धित विद्यालयमै परीक्षा गरिएको थियो भने बोर्डले कुल पूर्णाङ्क मध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको बोर्डले जनाएको छ । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

विद्यालयले पठाएको नतिजामा थुप्रै त्रुटी हुँदा नतिजा प्रकाशनमा ढिला भएको बोर्डले जनाएको छ।