७ बैशाख २०८१, शुक्रबार

शैक्षिक गुणस्तरमा प्रश्नचिन्ह एसईई नतिजा

SEE
फाइल फोटो

यस वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउनेको संख्या निक्कै कम देखियो । २०७६ र ०७७ मा हजारौं विद्यार्थीले ल्याएको ४ जीपीए २०७८ मा आइपुग्दा ४२ जना मात्रैले प्राप्त गरे । यसले नेपालको शैक्षिक गुणस्तरमा नै प्रश्नचिन्ह खडा गरेको छ ।

२०७८ को एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै, यतिबेला हाम्रो शैक्षिक गुणस्तरको अवस्था छताछुल्ल भएको छ । ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमा ४२ जनाले मात्रै ल्याएको चार जीपीएले गुणस्तरीय शिक्षा दिइरहेका भनेका विद्यालयहरुको अवस्था समेत छर्लङ्ग पारिदिएको छ ।

यो वर्ष राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० सानोठिमीको तथ्याङ्कअनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार ६ सय ३३, ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ हजार ६ सय २७, २.८ देखि ३.२ जीपीए ल्याउने ६९ हजार ९ सय, २.४ देखि २.८ ९० हजार ७ सय ५८, २ देखि २.४ जीपीए ल्याउने १ लाख १२ हजार ७ सय ३३ , १.६ देखि २ जीपीए ल्याउने १ लाख ५ हजार ५ सय ९४, १.२ देखि १.६ जीपीए ल्याउने ४४ हजार ५ सय ८६ जना र ०.८ देखि १.२ जीपीए ल्याउने ३ हजार २ सय ८० छ । यो वर्ष ३.६ देखि ४ जीपीए ल्याउनेको १.९४ प्रतिशत मात्रै छ । यसरी यस वर्षको एसईईको नतिजा खस्किएपछि यसबारे राष्ट्रियसभा बैठकमासमेत प्रश्न उठेको छ ।

यो विषयमा प्रश्न उठ्नु स्वभाविक छ । किनभने २०७६–७७ मा कोरोना कहरका कारण आन्तरिक मूल्याङ्कनका आधारमा एसईई नतिजा सार्वजनिक भयो । सो अवधिमा २०७६ मा ४ जीपीए ल्याउनेको संख्या ९ हजार ३ सय १९ थियो । अर्को वर्ष २०७७ मा पनि कोरोना कहरकै कारण आन्तरिक मूल्याङ्कनको आधारमा प्रकाशित नतिजामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४ सय ४४ थियो । अब भने त्यो नतिजा खस्किएर ४२ जनामा पुगेको छ । यो वर्ष विद्यार्थीको क्षमताको राम्रोसँग मूल्याङ्कन भएकाले ४ जीपीए ल्याउनेको संख्या कम भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० सानोठिमीको भनाइ छ ।

परीक्षा नियन्त्रकको भनाइले आन्तरिक मूल्याङ्कनको आधारमा अंक दिने शैक्षिक संस्थाहरुमाथिसमेत प्रश्न खडा गरेको छ । ६ हजार निजी विद्यालयको छाता संगठन प्याब्सन यो विषयमा के भन्छ त ?

७६,७७ को तुलनामा अहिले आएको नतिजाले हाम्रो शैक्षिक गुणस्तरमाथि प्रश्न चिन्ह खडा गरेको शिक्षा विज्ञको भनाइ छ ।

हुन त, विद्यार्थीको मूल्याङ्कन अंकले मात्रै गर्दैन, विद्यार्थीको भविष्य उनीहरुले पछि गर्ने मेहनतले निर्धारण गर्छ । तर एसईईको नतिजाले हामीले विद्यार्थीलाई कसरी सिकाइरहेका छौं, उनीहरुले वर्षौ पढेको विषयवस्तुमा पनि किन न्याय गर्न सकिरहेका छैनन्, हामी कहाँ चुक्यौं भनेर सोच्ने बेला भने आएको छ ।