६ बैशाख २०८१, बिहीबार

भ्रष्टाचार गर्ने मनस्थितिले एकलौटी रुपमा नगरसभा गरेको उपप्रमुखको आरोप

anshu shah

राजदेवी नगरपालिकाका उपप्रमुख अंशु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटी रुपमा नगरसभा गरेको आरोप लगाउनुभएको छ । आफूसँग कुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटी रुपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आरोप लगाउनुभएको हो ।

राजदेवी नगरपालिकाको पाँचौँ नगरसभा शनिबार नगरपालिकाको कार्यालय भित्र बन्द कोठामा सम्पन्न भएको थियो । खुला ठाउँमा पारदर्शी ढङ्गले नगरसभा गर्न आफूले पटक पटक आग्रह गर्दा पनि आफनो कुरालाई अटेरी गर्दै प्रमुख सिंहले बन्द कोठाभित्र नगरसभा गरेको उहाँको भनाइ थियो ।

एकलौटी रुपमा कार्यपालिका सदस्यलाई बोलाएर प्रमुख सिंहले बैठक गरेको र आफूखुशी नीति तथा कार्यक्रम माथि छलफल गरी घरघरमा पुगेर हस्ताक्षर गराएको बताउँदै उहाँले गत आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि कुनै छलफल नभएको र आफूसँग कुनै छलफल नगरी नगरप्रमुखले एकलौटीरुपमा आफ्नो खुशी योजना ल्याएर नगरसभाबाट जबर्जस्ती पास गराएको आरोप लगाउनुभयो ।

नगरसभामा गएर आफुले आफ्ना कुरा राख्न चाहेको भए पनि प्रमुखले आफूलाई प्रवेशसमेत गर्न नदिएको दुखेसो व्यक्त गर्दै उहाँले स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन, नीति तथा कानूनविपरीत आफूलाई बाइपास गरी नगरसभा गरेकोमा आपत्ति जनाउनुभयो ।

नगरप्रमुख सिंहले नीति तथा कार्यक्रमबारे छलफल गर्न कार्यपालिका बैठकमा उपप्रमुखलाई बोलाउँदा नआएको बताउनुभयो । आफूले सबै कार्यपालिका सदस्यको सहमतिमा नै नीति तथा योजना ल्याई नगरसभा गरेको उहाँको भनाइ छ ।