१४ माघ २०७७, बुधबार

कुख्यात अपराधी’ हत्या र लुटपाट मच्चाउने साँइला पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले कुख्यात अपराधी ‘साइँला’ भनिने दुर्गाबहादुर तामाङलाई पक्राउ गरेको छ। धादिङको उत्तरी भेगमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाउने कार्यमा संलग्न तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङग खनियाबास –२ स्थायी ठेगाना भएका २७ वर्षीय उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलील शुक्रबार पोखरा महानगरपालिका वडा नं २५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो ।

आफ्नो सही पहिचान समेत बदली उनी छदम परिचय बनाई कास्कीको चुम्राङ्ग भन्ने ठाउँमा लेकेर बस्दै आएका थिए ।

प्रहरीका अनुसार दार्खामा शिव थापाको हत्यामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत धादिङले यसअघि नै ५ वर्ष कैद तोकेको छ । यस्तै भिषण सिम्खडा हत्या आरोपमा पनि अदालतले ५ वर्ष नै कैद सुनाएको छ ।

यस्तै धादिङको खनियाबास १ स्थित पर्चे भन्ने स्थानमा उनले कैशाल दीक्षितलाई खुकुरी देखाउँदै ६ लाख १० हजार लुटेर फरार रहेको पनि प्रहरीले जनाएको छ ।

सीआईबीले उनलाई आवश्यक कानूनी कारवाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको छ ।