१४ बैशाख २०८१, शुक्रबार

कलेजो प्रत्यारोपणका लागि १४ लाख सहयोग

money

म्याग्दीका एक व्यक्तिलाई कलेजो प्रत्यारोपणका लागि करिब रु १४ लाख सहयोग जुटेको छ । कलेजोको समस्याले थलिएका धवलागिरि गाउँपालिका–७ धारापानीका ५३ वर्षीय खड्कबहादुर थापाको उपचारका लागि सोमबार रु १३ लाख ९६ हजार ३९६ सहयोग गरिएको हो ।

काठमाडौँ–धारापानी सम्पर्क समाजले स्वदेश तथा विदेशमा रहेकाहरुबाट सो रकम सङ्कलन गरेर थापाको कलेजो प्रत्यारोपणका लागि सहयोग गरेको जनाएको छ । अभियानको नेतृत्व गर्नुभएका समाजका अध्यक्ष क्याप्टेन भरतबहादुर थापाले सङ्कलित रकम थापालाई उपलब्ध गराइएको जानकारी दिनुभयो ।

“नामावली र ठेगानासहितको विवरण सोमबार सार्वजनिक गर्दै समाजले सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ”, उहाँले भन्नुभयो, “सहयोग जुटाउन फलियागाउँ–काठमाडौँ समाजले पनि सघाएको थियो ।” नवलपुरको बेल्डीयाबाट केशरबहादुर थापा र डम्मरबहादुर थापाको संयोजकत्वमा रु ६८ हजार ५०५, कोरियाबाट कृष्णबहादुर थापाको संयोजकत्वमा रु ६९ हजार, जापानबाट काजी थापा, जीतबहादुर खत्री र अमृत थापाको पहलमा रु एक लाख ८८ हजार १९०, अष्टे«लियाबाट किसान पुन मगर, चक्रबहादुर थापा, भूपेन्द्र थापा, सन्तोष थापा र चन्द्रप्रकाश थापाको अगुवाइमा रु एक लाख ८७ हजार सङ्कलन भएको थियो ।

बेनीमा बस्दै आउनुभएका ५३ वर्षीय थापाको उपचारको क्रममा अर्थाभावपछि परिवारले सहयोगको अपिल गरेको थियो । ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । बेनीको न्यूरोडका व्यवसायी र थापाका आफन्त एवं धारापानीका बासिन्दाले पनि सहयोग गरेका थिए ।

निर्माणसम्बन्धी काम गरेर जीविकोपार्जन गर्दै आउनुभएका थापाको हाल भारतको मुम्बईस्थित नायर अस्पतालमा उपचार भइरहेको छ । थापाकी श्रीमती यामुले आवश्यक आर्थिक स्रोत जुटेपछि शल्यक्रिया गरेर कलेजो प्रत्यारोपणको तयारी भएको बताउनुभयो ।

पहिरोपीडितको घर बनाउन जग्गा खरिद

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिराका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ । पहिराबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका सङ्घले पाँच रोपनी जग्गा खरिद गरेको हो । गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ घर भत्किएको थियो । आठको मृत्यु र एक जना बेपत्ता भएका थिए ।

घरवास गुमाएका मध्ये एकको काठमाडौँमा घर छ । बीस जनाको अन्यत्र जग्गा छ । घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणका लागि वडाका जनप्रतिनिधि र अगुवाले पहिचान गरेको जग्गा सङ्घले खरिद गरेको हो । रु २० लाखमा बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान नजिकै तल्लोबोट भन्ने ठाउँमा जग्गा खरिद गरिएको समन्वय गर्नुभएका दल शेरबुजाले बताउनुभयो । सो जग्गामा घर निर्माण गरेर पहिरोपीडितलाई हस्तान्तरण गर्ने तयारी भएको छ । स्वदेश तथा विदेशमा रहेका बिमवासीले आर्थिक स्रोत जुटाएका हुन् । वडाध्यक्ष रेशम जुग्जालीले अहिलेसम्म आठ परिवारले सो जग्गामा बन्ने घरमा बस्न सहमत भएका जानकारी दिनुभयो । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले १० घर बनाउने तयारी गरेको छ ।

उनीहरुको पुनःवासका लागि समुदायस्तरबाट स्वदेश तथा विदेशमा आर्थिक सहयोगसमेत सङ्कलन भएको छ । घरवास गुमाएकालाई विदेश र शहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ ।