१३ बैशाख २०८१, बिहीबार

उकालोमा ब्रेक नलाग्दा भीरबाट खस्यो जिप, चालकको निधन

Accident Parbat

म्याग्दीको बेनीबाट पर्वतको जलजला जाँदै गरेको ग.१ ज ५२९६ नम्बरको जिप दुर्घटना भएको छ । उकालोमा ब्रेक नलागेपछि भीरबाट करिब दुई सय मिटर तल खसेको जिप चालकको भने निधन भएको छ ।

निधन हुनेमा जलजला २ का ३० वर्षीय डम्मरबहादुर दमाई छन् । प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार जिपमा सवार १४ यात्रु घाइते भएका छन् ।

बेनीबाट मल्लाजका लागि छुटेको जिप बुधबार साँझ करिब साढे ५ बजे दुर्घटनामा परेको हो । राउतका अनुसार घाइतेहरुको म्याग्दी अस्पताल र केहीको कास्कीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका ६ यात्रु भने म्याग्दी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।