८ बैशाख २०८१, शनिबार

असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा अझै भएन रोपाइँ

dhan ropai

म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो ।

विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोलाहरुमा पानीको छेलोखेलो हुने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानहरुले बताएका छन् । “ पानी पर्ला र रोपाइँ सुरु गरौला भन्ने सुरुमा छौँ ”– बेनी नगरपालिका २ का टेकबहादुर कार्कीले भन्नुभयो ।

खेत र बारीका कान्लाका पानीका मूल फुटेका छैनन् भने भेलबाडी बग्न पर्ने खोलामा खडेरीले गर्दा गत शुक्रबारसम्म कमिला हिँड्ने गरेका किसान बताउँछन् । शनिबार र आइतबार सिमसिमे पानी परिरहेको छ । दिनभरि यस्तै पानी पर्ने हो भने रोपाइँमा सहज हुने किसानको भनाइ रहेको छ ।

केही वर्षअघिसम्म लेकाली क्षेत्रमा असारको अन्तिमसम्ममा र साउनको पहिलो सातासम्ममा बेँसीमा रोपाइँ पूरा हुने गरेका थियो । तर पछिल्ला वर्षहरूमा वर्षाको अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको बेनी –९ का बालकृष्ण सुवेदीले बताउनुभयो ।

आकाशको पानी नपरेपछि खेतका कुना र कान्लाका मूल पनि फुटेको छैन । सिँचाइका लागि कुलो वा नहरको व्यवस्थापन भएका, खोल्साको आसपासमा भएका बाँझा जमिनमा रोपाइँ सकिएको भए पनि मकैखेती भएको मुख्य उत्पादनयोग्य भूमिमा रोपाइँ भएको छैन ।

मकै पाकेपछि थन्क्याएर रोपाइँका लागि खेतका गराहरू तयारी अवस्थामा राखिए पनि पानीकै अभावमा रोप्न नसकेको कृषक बताउँछन् । वर्षा नहुँदा मकै लगाएको खेत खाली भएको धेरै दिन भएको भए पनि रोपाइँ गर्न नसकिएको मालिका गाउँपालिका–५ का कृषक शेरबहादुर फगामीले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न ठाउँका कृषकले धारा वा मूलको पानी आलोपालो गरेर रोपाइँ गरिएको खेतमा पनि सिँचाइको अभावमा गराहरू चर्किएको बताएका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले अहिलेसम्म करिब ५५ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिनुभयो । अघिल्लो वर्षको यही समयमा अहिलेको भन्दा धेरै रोपाइँ भए पनि यो वर्ष पर्याप्त वर्षा नहुँदा कृषक चिन्तामा परेको उहाँको भनाइ छ ।

जिल्लामा कूल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा तीमध्ये जम्मा १९ हजार ४९८ हेक्टरको जमिनमा खेती हुँदै आइरहेको छ । जिल्लामा कूल तीन हजार ८८५ हेक्टरको जमिनमा धानखेती हुँदै आएको छ ।

गत वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टरअर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा एक हजार ६८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार ३३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

कृषि निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीले ११ जिल्ला रहेको गण्डकीका नौ जिल्लामा मात्रै धान रोपाइँ हुने गरेको जानकारी दिनुभयो । प्रदेशका सबै जिल्लामा गरी अहिलेसम्म करिब ६३ प्रतिशत रोपाइँ भएको तथ्याङ्क आएको उहाँले बताउनुभयो ।