१३ बैशाख २०८१, बिहीबार

सिँचाइ आयोजनाले ३२६ पावरटिलर वितरण गर्दै

halo2020 12 29 02 12 27

किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद कँडेलले बताउनुभयो । “यस आर्थिक वर्षमा यान्त्रिकीकरण अनुदान कार्यक्रमअन्र्तगत एक हजार २०० किसानले विभिन्न यन्त्रको माग गरेका छन्”, कँडेलले भन्नुभयो, “किसानको माग बर्सेनि बढ्दै गएको छ । किसानले यन्त्र तथा औजारको माग बढाएका छन् । माग हेर्दा कृषि किसानको कर्म बन्न थालेको प्रष्ट हुन्छ ।”

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले कृषियन्त्रमा किसानलाई ५० प्रतिशत अनुदान दिने गरेको छ । व्यावसायिक किसानलाई छनोट गरी कृषि उत्पादकत्व बढाउन सक्ने किसानलाई ५० प्रतिशत छुटमा पावरटिलर, रिपर, कमाण्ड हार्भेस्टर, रोटाबेटर, बीउ ग्रेडिङ गर्ने मेसिन, ठूलो ट्र्याक्टरलगायतका सामग्री प्रदान गरेको छ ।

त्यसमध्ये कम लागत पर्ने भएको र साना व्यावसायिक किसानले किन्न सक्ने भएकाले अनुदान रकमले अधिकांश किसानले पावरटिलर किनेर प्रयोग गरिरहेका छन् । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ५० प्रतिशत अनुदानमा यस वर्ष ३२९ किसानलाई पावरटिलर वितरणका लागि छनोट गरी वितरणको प्रक्रियामा रहेको कँडेलले बताउनुभयो । “किसानका माग धेरै आएका थिए तर त्यसमा व्यावसायिक कृषिकर्ममा लागेका किसान छनोट गरेका छौँ । सबै किसानलाई दिन सकिँदैन”, उहाँले भन्नुभयो, “किसानले प्रविधिको प्रयोग र प्राविधिकको सल्लाहनुसार कृषि पेशा गर्न थालेका छन् । यसबाट उनीहरुको उत्पादन बढ्नुका साथै समयको बचत हुन्छ ।”

कृषिकार्यका लागि कम लागतमा किन्न सकिने र एउटै मेसिनले धेरै काम गर्ने भएकाले पावरटिलरको प्रयोग किसानले अधिक मात्रामा गर्न थालेका छन् । खेत जोत्न, बाली लगाउन, पानी लगाउन, बाली काट्न, थ्रेसिङ गर्न, मिल चलाउन, ढुवानी गर्न, जेनेरेटर चलाउनलगायत काममा प्रयोग गर्न सकिने पावरटिलर राम्रो, बहुउपयोगी यन्त्र भएकाले यसको माग उच्च हुँदै गएको छ । किसान छप्पु चौधरी बहुउपयोगी भएकाले पावरटिलर किन्नेहरु बढ्दै गएको बताउनुहुन्छ । “५० प्रतिशत अनुदान पाएर मैले पनि किनेको छु । धेरै काममा सहज भएको छ”, चौधरीले भन्नुभयो, “यसको सही सदुपयोग गर्न सके किसानलाई आवश्यक सबै काममा सजिलो हुन्छ । यान्त्रिकीकरणले काममा सहजतासँगै लागत र श्रम बचत गर्छ ।”

किसान हरि डगौरा प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा परम्परागतरूपमा काम गर्ने परिपाटी हट्दै जान थालेको बताउनुहुन्छ । “सिँचाइ आयोजनाले धेरै किसानलाई सहयोग भएको छ । बीउबिजन, प्राविधिक सहयोग, औजार सहयोग पाएका छौँ”, उहाँ भन्नुहुन्छ, “अहिले धेरै किसानले मेसिनरी यन्त्र पावरटिलरको प्रयोग बढाउँदै गएका छन् ।”

सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यस क्षेत्रको करिब ३८ हजार हेक्टर भू–भागमा सिँचाइ सुविधा पुग्नेछ । यस आयोजनाको निर्माण आर्थिक वर्ष २०६५/६६ बाट शुरु भएको हो । सन् २०२३ डिसेम्बर ३१ मा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाको कूल लागत रु २७ अर्ब हो । यो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भइरहेको छ ।

    सम्बन्धित समाचार...