२७ बैशाख २०८१, बिहीबार

नेकपाको स्थायी कमिटीद्वारा प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय

cpn
फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकले आकस्मिक केन्द्रीय कमिटीको बैठक बोलाएको छ । सोही बैठकमा नै अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाहीको प्रस्ताव लगिने भएको छ । आजको स्थायी कमिटी बैठकले केपी ओलीले संसद् विघटन गर्ने जुन कदम चालेका छन् त्यो स्वेच्छाचारी, अलोकतान्त्रिक र जनभावना विपरीतको निरंकुश कदम हो भन्ने निष्कर्ष निकालेको नेता झलनाथ खनालले जानकारी गराए ।

त्यसका विरुद्धमा लोकतान्त्रिक शक्तिहरु एक भएर प्रतिकार गर्ने निर्णय भएको उनले बताए ।

“राष्ट्रपतिले असंवैधानिक कदमलाई साथ दिने काम गर्नुभयो, त्यसप्रति खेद व्यक्त गरेका छौँ,” खनालले भने, “पार्टी अध्यक्ष केपी ओलीले अनुशासनहीन काम गरेको, मर्म र भावनाविपरीत काम गरेको हुनाले कारवाहीको प्रस्ताव केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेका छौं ।”

उनका अनुसार सोमबार दिउँसो १ बजे निवर्तमान सांसदहरुको भेला गर्ने र ३ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि स्थायी कमिटीले गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीसहित उनी पक्षका स्थायी कमिटी सदस्यहरु अनुपस्थित रहेका थिए ।  

यी हुन् नेकपा स्थायी कमिटीका सात निर्णय

१–केपी शर्मा ओलीले संसद् विघटन गर्ने जुन कदम चालेका छन् । त्यो स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुश कदम हो । त्यसको निन्दा र भ्रत्सर्ना गर्ने । त्यसका विरोधमा संविधान पक्षधर शक्तिहरु एक भएर प्रतिकार गर्ने

२–राष्ट्रपतिले समेत अलोकतान्त्रिक कदमलाई साथ दिएको हुनाले यसप्रति खेद व्यक्त गर्ने

३–पार्टी अध्यक्षका रुपमा रहेका केपी ओलीले अनुशासनहीन काम गरेको, पार्टीको मर्म र भावनाविपरीत काम गरेको हुनाले अनुशासनको कारवाही गर्ने, त्यो प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने

४–पुस ७ गते केन्द्रीय कमिटीको बैठक राख्ने

५–कृष्णबहादुर महरालाई स्थायी कमिटीमा थप्ने

६–भोलि १ बजे निवर्तमान सांसदहरुको भेला गर्ने

७–भोलि ३ बजे स्थायी कमिटीको बैठक बस्ने