१६ चैत्र २०८०, शुक्रबार

धरानमा कांग्रेस जित्दैछ, माहोल देखेर नेकपा आत्तियो : गगन थापा

gaganthapa09th

प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसको युवा नेता गगन थापाले धरान उपमहानगरको प्रमुख पदमा कांग्रेसका उमेदवार तिलक राईलाई जिताउन आह्वान गरेका छन् ।

थापाले भिडियो सन्देशमार्फत मतदातामाझ राईलाई जिताउन आग्रह गरेका हुन् । भष्ट्राचार विरोधी र मजदुर नेताको पहिचान बनाएका राईलाई कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको प्रमुखको उमेदवार बनाएको छ ।

सोमवार साँझ थापाले जारी गरेको भिडियो सन्देशमा थापाले ‘‘नेकपा सरकारले देशलाई भाँडभैलो एवं तहसनहस बनाएको र यसको विरुद्धमा कांग्रेसलाई भोट दिएर जिताउन,’’ आह्वान गरेका छन् ।

करिब २ मिनेटको भिडियो सन्देशमार्फत उनले देशभर नेकपा सरकार अलोप्रिय रहेको भन्ने पुष्टि धरानको चुनाबाट हुने बताएका छन् । थापाले भने, ‘‘धरानमा कांग्रेसप्रतिको जनहलर बढ्दै गएको छ । आफूलाई सर्वहाराको नेता ठान्नेहरुको शैलीको विरुद्ध पनि धराने जनताले कांग्रेसलाई विजयी गराउनु पर्छ ।’’ थापा नेपाली कांग्रेसले आगमी मसिर १० गते आयोजना गर्ने चुनावी आमसभामा प्रमुख वक्ताको रुपमा धरान आउने नेपाली कंग्रेस सुनसरीले जनाएको छ ।

यता, धरानमा आयोजित अगुवा कार्यकर्ता भेलमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा भएकाले चुनावको परिणाम आफ्नो पक्षमा ल्याउन निर्वाचन आचारसंहिताविरुद्ध पनि काम गर्न सक्ने भन्दै कार्यकर्तालाई चनाखो रहन निर्देशन दिए । उनले भने,‘‘धरानको माहोल देखेर नेकपा आत्तिएको छ । उनीहरुले हारिन्छ भनेर पैसाको चलखेल गर्न सक्छन् सतर्क हरनुहोला ।’’

उनले देशभर हुने उपनिर्वाचनमा नेकपाको सरकारविरुद्ध जनलहर बढेका कारण कांग्रेसले गत निर्वाचनमा भोगेको पराजयको बदला यस पटक लिने दाबी गरे ।