१४ बैशाख २०८१, शुक्रबार

६ वर्षीया बालिका मृत्यु प्रकरण : प्रहरीले चलाएको गोली लागेका घाइते सञ्जयलाई काठमाडौं ल्याइँदै

bardibas goli

६ वर्षीया बालिकाको हत्या प्रकरणमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ । कम्मरमुनी गोली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि उनलाई काठमाडौँ लैजाने तयारी भइरहेको छ ।

मंगलबार बिहानैदेखि सडकमा मृतक बालिकाको शव राखेर प्रदर्शनकारीले सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक संचालनमा ल्याउनको लागि प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले गोली चलाएको स्थानीयवासी बताउँछन् ।

आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ । 

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको बताएको छ ।

यसैबीच, महेन्द्र राजमार्ग अन्तर्गत बर्दिबास–ढल्केबर सडकखण्ड संचालनमा आएको छ । प्रहरीले गोली चलाएपछि बर्दिबासको पछिल्लो अवस्था तनावग्रस्त छ ।