१७ बैशाख २०८१, सोमबार

‘बलात्कारको घटनामा पीडित महिलाकै कमजोरी खोजिन्छ’

Rape 2

अधिकारका क्षेत्रमा कार्यरतहरुले बलात्कारलगायत महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भइरहेका बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले आज आयोजना गरेको ‘महिला र दतिमाथिको बढ्दो अपराध’ विषयको वेभ छलफमा उहाँहरुले कुनै पनि घटनामा पीडकलाई उन्मुक्ति दिएर पीडितको कमजोरी खोजिने प्रवृत्ति हट्न नसकेको बताउनुभयो ।

महिला अधिकारवादी डा रेणु राजभण्डारीले अहिले पनि बलात्कृत महिलालाई समाजले बिटुलिएको र परिवारको इज्जत जान्छ भन्ने रुपमा लिने गरेको उल्लेख गर्नुभयो । अधिकारकर्मी र मिडियाले पीडकलाई कारवाही भए÷नभएको कुरामा ध्यान दिए पनि महिलामा परेको सामाजिक, मानसिकलगायत असरबारेमा ध्यान नदिएको उहाँको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म धेरै राजनीतिक बहस भए पनि अबका दिनमा रुपान्तरणमुखी सामाजिक बहसको खाँचो छ ।”

पत्रकार तथा सामाजिक अभियानकर्मी कनकमणि दीक्षितले अबको बाटो सामाजिक शिक्षा नै भएको औँल्याउनुभयो । सामाजिक, नैतिक शिक्षा र सहअनुभूतिका कुरा बालबालिकालाई सिकाउन खाँचो रहेको उहाँको भनाइ थियो । महिला हिंसाका घटना नेपालमा मात्रै नभएर संसारभर भइरहे पनि मूलधारकै मिडियामा पनि कमजोर र शक्तिहीन महिलाका रुपमा चित्रण गरिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “युट्युबलगायतका मिडियाको नियन्त्रणको कुरा उठिरहँदा यससँगै वाकस्वतन्त्रताको विषय जोडिएको छ ।”

सामाजिक अभियानकर्मी गौरा नेपालीले पाठ्यक्रममा रहेको जातीय विभेदका विषयवस्तु हट्न नसकेको औँल्याउनुभयो । पाठ्यक्रममा दलितलाई तल्लो जातका रुपमा चित्रण गरिएकाले सो समुदायका बालबालिकामा आफू तल्लो जातको हुँ भन्ने भावना विकास भएको उहाँको भनाइ थियो । कतिपय शिक्षित व्यक्ति समेत दलितका विषयप्रति संवेदनशील हुन नसकेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, “डिग्री पढेका व्यक्तिमा समेत समान भए आरक्षण किन चाहियो र समान नभए विभेद किन नगर्ने भन्ने सोचाइ पाइन्छ ।”