१६ चैत्र २०८०, शुक्रबार

बेँसीशहर-चामे सडक पुनः सञ्चालन

besisahar manang chame highway

दुई महिनाबाट अवरुद्ध बेँसीशहर-चामे सडक आजबाट पुनः सञ्चालनमा आएको छ । गत साउन २२ गते अविरल वर्षासँगै आएको बाढीपहिराले यस सडकको मस्र्याङ्दी गाउँपालिका-४ घोप्टेभीर खोलामा सडक बगाएपछि अवरुद्ध सडकमा फलामे पुल निर्माणसँगै आज मध्यान्ह् १२ बजेदेखि सञ्चालनमा आएको हो ।

अविरल वर्षाले घोप्टेखोलामा आएको बाढीपहिराले करिब २० मिटर सडक नै बगाएपछि फलामे पुल निर्माण गरेर यस सडक आजदेखि पुर्ण रुपमा सञ्चालनमा ल्याइएको डुम्रे—बेँसीशहर—चामे सडक योजना कार्यालय लमजुङका सवइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत भदौं ७ गतेबाट निर्माण थालनी गरेको यस पुलको २७ मिटर लम्बाई र ४ दशमलव २० मिटर चौडाई रहेको छ ।

गत साउन २६ गते सोमबार गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालासहितको टोलीले स्थलगत निरीक्षण गर्दै एक महिनाभित्र फलामे पुल निर्माण गरी यातायात सञ्चालन गर्न सडक योजना कार्यालयलाई निर्देशन दिएको थियो ।

निर्देशनपश्चात् पुल निर्माणको थालनी गरेपनि खोलामा पटकपटक आएको बाढीपहिराले पुल निर्माणमा अवरोध खडा गर्दा निर्माण कार्यमा केही ढिला भएको सवइन्जिनियर अधिकारीले बताउनुभयो । सडक सञ्चालनमा आएपछि रोकिएर बसेका दर्जनौ सवारीसाधनहरु आवतजावत गर्न थालेको उहाँको भनाइ छ ।