२१ बैशाख २०८१, शुक्रबार

भोजपुरको बोखिम तरकारी खेतीमा नमूना बन्दै

krishi tarkari
फाइल फोटो

भोजपुर नगरपालिका–५ बोखिम तरकारीमा नमूना वडा बनेको छ । सदरमुकामको कोठेबारीको रूपमा चिनिने यस ठाउँमा वडा कार्यालयले ‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालनमा ल्याएर किसानलाई प्रोत्साहन गरेसँगै तरकारीमा नमूना बनेको हो ।

करिब ७०० घरपरिवार रहेको यस वडाका अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् । विगतका वर्षमा पनि तरकारीको खेती गर्ने यहाँका किसान वडा कार्यालयले प्राविधिकसँगै अन्य सहयोग गरेपछि झनै आकर्षित भएका छन् । उनीहरुले तरकारी खेतीबाट राम्रो आम्दानीसमेत गरिरहेका छन् । अधिकांश स्थानीय किसानको मुख्य आम्दानीको स्रोत तरकारी बाली बनेको छ । वडा कार्यालयले आफूहरुलाई गरेको सहयोगप्रति उनीहरु निकै खुशी छन् । वडा कार्यालयले आफूलाई प्रोत्साहन गर्ने गरेको कामको उनीहरुले खुलेर प्रशंसा गर्ने गरेका छन् ।

उनीहरुले टनेलमा टमाटर, अकबरे खुसार्नी, तीतेकरेला, बन्दा, काउली, काँक्रोलगायत विभिन्न जातका तरकारी उत्पादन गर्दै आएका छन् । स्थानीय किसान खड्गराज राजभण्डारीले भन्नुभयो, “विगतका वर्षमा पनि तरकारी खेती गरिरहेका थियौँ, तरकारीका लागि उपयुक्त ज्ञान तथा प्रविधिको अभावमा सोचेजस्तो आम्दानी लिन सकिरहेको थिइनँ तर वडा कार्यालयको पहलमा भइरहेको विभिन्नखाले कार्यक्रमले यसतर्फ लाग्न थप हौसला मिलेको छ, तरकारीबाट राम्रै आम्दानी गरिरहेको छु ।”

तरकारीको राम्रो सम्भावना रहेको यस क्षेत्रका अन्य किसानले पनि आफ्नै लगानीमा पनि व्यावसायिकरूपमा खेती गरेका छन् । व्यवसायमा लाग्ने किसानलाई लक्षित गरेर वडा कार्यालयले तालिम तथा विभिन्न समयमा उन्नत जातको बीउबिजनसँगै फलफूल जातका बिरुवासमेत दिने गरेको उनीहरुले बताउने गरेका छन् । आगामी दिनमा समेत साथ सहयोग पाए व्यवसायलाई अझ विस्तार गर्ने किसानहरुको भनाइ छ । विदेश जानुभन्दा तरकारी खेती गरे राम्रो आम्दानी दिन सकिने उनीहरुको अनुभव छ ।

स्थानीय तरकारी किसान प्रतीक्षा श्रेष्ठले भन्नुभयो, “वडा कार्यालयले पनि केही मात्रमा सहयोग गरेको छ, वडामा कम मात्रामा बजेट हुने भएकाले हामी आफैँले पनि लगानी गरेर व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका छाँै, व्यवसायी बनेर काम गर्न सके यहीँ राम्रो आम्दानी छ, पैसा कमाउनका लागि विदेश जानु पर्दैन, तर काम गर्ने इच्छा हुनुपर्यो ।”

वडा कार्यालयले विनियोजित बजेटमध्येबाट कृषिलाई प्राथमिकता दिएको छ । कृषिका क्षेत्रमा विनियोजित बजेटले मात्र धेरै काम गर्न असम्भव भएपछि विभिन्न संस्थासँग सहयोग मागेर किसानको मागलाई पूरा गर्ने गरेको छ । वडा कार्यालयले आफ्नोतर्फबाट एक÷एकवटा टनेल वितरण गरेको छ भने भू–तथा जलाधार कार्यालयसँग माग गरेर गरिब तथा विपन्न परिवारलाई लक्षित गरी २२२ परिवारलाई प्लाष्टिक टनेल वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

वडा क्षेत्रका स्थानीयवासीलाई प्रोत्साहन गर्न आगामी दिनमा अझै किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष जसबहादुर राईले बताउनुभयो । राईले भन्नुभयो, “करोडौँ बजेटमा नगरपालिकाले हामीलाई जम्मा रु ५० लाख बजेट दिन्छ, त्यसमा सामाजिक सुरक्षाभत्ता, लक्षित वर्गको बजेट धेरै हुन्छ, उनीहरुलाई वितरण गर्दा विकास बजेट आधा पनि हुन्न तर पनि हाम्रो क्षेत्र तरकारीका लागि उपयुक्त रहेकाले यसलाई प्राथमितामा राखेको छु, वडाको बजेटले नपुग्ने भएपछि विभिन्न कार्यालयलाई हारगुहार गरेर भए पनि किसानको मागलाई पूरा गरिरहेको छु ।”

वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको कामलाई धेरैले प्रशंसायोग्य मानेका छन् । वडास्तरमा थोरै मात्र बजेट हुने भए पनि त्यसलाई उचित ढङ्गले प्राथमिकता निर्धारण गरेर वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको यो काम धेरैको लागि उदाहरणीय रहेको स्थानीय जानकारहरुले बताउने गरेका छन् । वडा कार्यालयले किसानलाई सिँचाइका लागि स–साना प्लाष्टिक पोखरीसमेत सहयोग गर्दै आएको छ । किसानले समयअनुसारको तरकारी उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् ।

वडाले आफ्नै पहलमा सबै वडामा विद्युत्समेत विस्तार गरिसकेको जनाएको छ । वडा कार्यालयले अब चाँडै उज्यालो वडा घोषणा गर्ने वडाध्यक्ष राईले बताउनुभयो । “हुन त यो सदरमुकाम नजिकैको वडा हो, तर यहाँका साविकका चारवटा वडा विद्युत्बाट वञ्चित थिए, मैले गत वर्ष नै स्थानीयवासीको विद्युत् बाल्ने चाहना पूरा गरिसकँे, अब उज्यालो वडा घोषणाको तयारीमा छौँ”, वडाध्यक्ष राईले भन्नुभयो । आफ्नो क्षेत्रका पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न खाले योजना बनाएको भए पनि रकम अभावले ती कामलाई पूर्णता दिन समस्या उत्पन्न भएको वडाध्यक्ष राईले बताउनुभयो ।

वडाध्यक्ष राईले भन्नुभयो, “हाम्रो वडामा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, त्यसको विकासमा लागिपरेको छु । तर के गर्नु वडामा आएको थोरै बजेटले खास के नै गर्न सकिँदोरहेछ र ? केन्द्र र प्रदेश सरकारलाई बजेट विनियोजन गर्न धेरैपटक अनुरोध गरेँ तर सम्बोधन भएन, इच्छाले मात्र पनि हुन्न रहेछ ।”