३१ बैशाख २०८१, सोमबार

प्रदेश २ सरकार : मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै

JASAPA

प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो ।

मुलुकमा सात प्रदेश रहेकामा ६ वटामा नेकपा नेतृत्वको एकल सरकार छ । प्रदेश २ मा जसपाले एकल सरकार बनाएको छ । राजपा र संघीय समाजवादी मिलेर २ नम्बर प्रदेशमा सरकार गठन गरेको भए पनि अहिले ती दल मिलेर जसपा बनेको हो ।

जसपा नेतृत्वले २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतको अढाई वर्षे कार्यकाल पार्टीले सोचेअनुसारको प्रतिफल दिन नसकेको निष्कर्षसहित पूरै टिम परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी घोषणापत्र, मधेस आन्दोलनको भावना तथा जनताको चाहनाअनुसार राउत सरकारले काम गर्न नसकेको जसपाको निष्कर्ष रहेको छ ।

मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टीबाट संसदीय दलको नेता चयन भएका थिए । राजपाबाट संसदीय दलको नेतामा जितेन्द्र सोनल छानिएका थिए । सोनल अहिले भौतिक योजना मन्त्री छन् । दुई दल एकीकरण भएकाले २ नम्बर प्रदेशमा जसपाको संसदीय दलको नेता चयन गर्नुपर्ने अवस्थासमेत आएको छ । अब पार्टी एकीकरण भइसकेको अवस्थामा दुई जना संसदीय दलको नेता नहुने र नयाँ बन्ने नेता नै मुख्यमन्त्री हुने जसपा स्रोतले जनाएको छ ।

यस्ता छन् मुख्यमन्त्रीका दाबेदार

२ नम्बर प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने तयारी भइरहेकै बेला नयाँ बन्ने मुख्यमन्त्रीले आफ्नो दाबेदारी प्रस्तुत गर्दै रणनीति बनाउन थालेका छन् ।

उता, मुख्यमन्त्री राउत आफैं पनि फेरि मुख्यमन्त्री बन्ने सोचमा छन् । भौतिक मन्त्री सोनल पनि मुख्यमन्त्रीको दाबी गर्न थालेका छन् । अर्थमन्त्री विजय यादव, सांसद मनिष सुमन, उपेन्द्र महतोसहित दर्जनभन्दा बढी नेताहरू नयाँ मुख्यमन्त्रीका दाबेदार रहेका छन् । संसदीय दलको नेता भए सर्वसम्मत नभए निर्वाचनबाट पनि हुने रणनीतिमा यी नेताहरू रहेको जसपा स्रोतले जनाएको छ ।

सरकारमा रहेका राउत, सोनल, यादवलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने पक्षमा सचिवालयका कुनै नेता देखिएका छैनन् । सरकारमा भएकाले यी मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएका कारण संसदीय दलको नेता हुने सम्भावना कम रहेको जसपा स्रोतको दाबी छ ।

सरकारमा नभएका तर प्रभावकारी काम गर्न सक्ने क्षमता भएका अन्य नेतालाई संसदीय दलको नेता बनाउने र उसैलाई मुख्यमन्त्री बनाएर जनताको काम सम्बोधन गर्ने पक्षमा सचिवालयका नेताहरू रहेका छन् ।

यी दाबेदारमध्ये सुमन शक्तिशाली देखिन्छन् । जसपाभित्रको शक्ति सन्तुलनअनुसार महतोले इच्छा राखेको भए पनि उनी निर्वाचन लड्ने पक्षमा छैनन् । निर्वाचन भएको अवस्थामा राउत, सोनल र सुमन भिड्ने पक्कापक्की रहेको छ ।