आर्सनल, म्यानचेस्टर युनाइटेडलाई एक-शून्य गोलले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । आर्सनलको जितपछि लिगको उपाधि दौड रोमाञ्चक बनेको छ । अब लिगका अन्तिम खेलपछि मात्र च्याम्पियन टिमको टुंगो लाग्नेछ ।
ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले सुरुवातमा गोलको अवसर सिर्जना गरेको थियो । रास्मस होइलुन्डको प्रहारले सही दिशा लिन सकेन । अलेहान्द्रो गारान्चोको प्रहार पनि बाहिरियो । २० औं मिनेटमा आर्सनलले खेलमा अग्रता लियो । काइ हाभर्ट्सको एसिस्टमा लियान्द्रो ट्रोसार्डले गोल गरेका थिए । पहिलो हाफमा एक शून्यले अघि रहेको आर्सनलविरुद्ध घरेलु टोलीले पुनरागमन गर्न सकेन ।
गारान्चोले बराबरी गोलका लागि प्रयास त गरे, सफल भएनन् । गाब्रिएल मार्टिनेलीले आर्सनलका लागि दोस्रो गोल गर्ने मौका पाएका थिए । उनको प्रहार युनाइटेड गोलकिपर आन्द्रे ओनानाले बचाए । अन्ततः ट्रोसार्ड नै आर्सनलका लागि म्याच विनर बने । आर्सनल र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी्बीच एक अंकको फरक छ । ३७ खेलबाट आर्सनलको ८७ र सिटीको ८६ अंक छ । तर सिटीले एक खेल कम खेलेको छ ।
सिटीले बुधबार राति टोटेनहमसँग खेल्नेछ । सो खेलमा आर्सनल, टोटेनहमले नतिजा आफ्नो पक्षमा पारिदिने आशमा हुनेछ । लिगको अन्तिम खेलमा सिटीले आइतबार घरेलु मैदानमा वेस्टहमलाई स्वागत गर्नेछ । आर्सनलले एभर्टनको सामना गर्नेछ । युनाइटेडको भने यो हारपछि अर्को सिजनको युरोपा लिग खेल्ने सम्भावना पनि कमजोर बन्यो ।
आठौं स्थानमा रहेको युनाइटेडको ३६ खेलबाट ५४ अंक छ ।