२५ बैशाख २०८१, मंगलवार

सवा घण्टा भएको वार्तामा ओली-प्रचण्ड बिच चर्काचर्की पनि

oli prachanda
फाइल फोटो

पार्टी विवाद समाधान गर्न बसेको अध्यक्षद्वयको आजको तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ ।

वार्ताको शुरुमानै लगानी बोर्डको कार्यकारी प्रमुखमा सुशिल भट्टको नियुक्तिको विषयलाई लिएर चर्काचर्की भएको एक नेताले बताए । उक्त पदस्थापन प्रती नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल दुवैले असन्तुष्टि जनाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको थियो ।

“आज पाँच बजेदेखि ६ बजेसम्म वार्ता भयो । वार्ताको सुरुआत एकदमै तनावपूर्ण बन्यो । भट्टलाई सीईओ बनाएको विषय गम्भीर रूपले उठायौं । उहाँले प्रतिवाद गर्नुभएन,” एक नेताले भने, “उप्रान्त यस्तो नियुक्ति गर्दा पार्टीको परामर्शबिना, छलफलबिना, स्वीकृतबिना नगर्नुस् भन्यौं ।”

जवाफमा ओलीले भट्टको बचाउ गरेका थिए । तर, फेरि दाहाल र खनालले त्यसको खण्डन गरेपछि ओलीले कुनै प्रतिक्रिया नजनाएको ती नेताले बताए ।

करिब सवा घण्टा भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण वार्ता निश्कर्षमा पुग्न नसकेको हो । ‘ओली स्थायी कमिटी बैठक राख्न तयार भएनन्, हामीले स्थायी कमिटी बैठकबाट समाधान खोजौँ भन्ने अडान छाडेनौ’, बैठकमा सहभागी एक नेताले भने, ‘त्यही भएर वार्ता सकारात्मक र सहमति हुन सकेन ।’

साउन १३ को स्थायी कमिटी बैठक ओली एक्लैले स्थगन र अर्का अध्यक्ष दाहालले बहुमत सदस्यसहित संचालन गरेका थिए । यही विषयलाई लिएर आइतबार ओली र दाहालबीच आरोप–प्रत्यारोप भएको थियो । वार्ता सहमतीतर्फ नगएपछि बुधबार पुनः बस्ने गरी नेताहरु उठेका थिए ।