१४ बैशाख २०८१, शुक्रबार

पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा, समेटियो भारतसँगको विवादित क्षेत्र

pakistan political map new imran khan
पाकिस्तानद्वारा जारी नयाँ नक्सा

प्रधानमन्त्री इमरान खानले साँझ देशवासीलाई सम्बोधन गर्दै छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन्।

प्रधानमन्त्री खानले अबदेखि पाकिस्तानका सरकारी कार्यालय, विद्यालय र अन्तर्राष्ट्रिय क्षेत्रमा यही नक्सा प्रयोग गरिने बताए।

उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ। भारतले जम्मु-कश्मीरको स्वायत्तता खोसेर केन्द्र प्रशासित क्षेत्र बनाएको एक वर्ष पुग्नु अघिल्लो दिन जारी भएको पाकिस्तानी नक्सामा जम्मु-कश्मीरलाई पनि विवादित भू-भाग भनेर दाबी गरिएको छ। त्यस्तै गुजरातको जुनागढ पनि नक्सामा समावेश गरिएको छ।

भारत र पाकिस्तान दुवैले उक्त क्षेत्र पूरै आफ्नो दाबी गर्छन्।

गत वर्ष भारतले पनि उसको नयाँ नक्सा सार्वजनिक गरेको थियो जसमा पाकिस्तान प्रशासित कश्मीर तथा गिल्गीट-बल्टिस्तान क्षेत्र समेटिएको थियो।

नयाँ राजनीतिक नक्सा जारी गरेपछि टिप्पणी गर्दै प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सरकारको उक्त निर्णयको सबै विपक्षी दल तथा कश्मीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले स्वागत गरेको बताएका छन्। इमरान खानले भने, “पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमङ्गको प्रतिनिधित्व गर्छ।”

भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई तथाकथित र हास्यास्पद बताएको छ।