
नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको भारतीय मिडियाको दावी छ ।
भारत र चीन तथा भारत र नेपालबीच सीमा विवाद जारी रहँदा लिपुलेक नजिक चिनियाँ जनमुक्ति सेनाको गतिविधि बढेको भारतीय संचार माध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सका अनुसार चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पीएलए) को एउटा बटालियनलाई लिपुलेक नजिकै तैनाथ गरेको छ । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भारतीय मिडियाको दावी छ । चीनको सो भूमिकालाई भारतीय मिडियाले आशंकाका दृष्टिले हेरेका छन् ।
हालै नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्नै नयाँ नक्सा जारी गरेपछि भारत नेपालसँग रुष्ट बनेको छ। भारतले लिपुलेक, लिम्पियाधुरा र कालापनी आफ्नो भएको दाबी गरिरहँदा नेपालले आफूसँग यी क्षेत्र नेपालको रहेको प्रमाण भएको बताइरहेको छ।
भारतले चीनको उक्साहटमा लागेर नेपालले भारतीय भूमिलाई आफ्नो नक्सामा समेटेको आरोप लगाउँदै आएको छ। भारतीय शीर्ष सैन्य कमाण्डरलाई उद्धृत गर्दै केही भारतीय अखबारका अनलाइन संस्करणले शनिबार यसबारे समाचार प्रकाशित गरेका छन् ।
यस्तै नेपालले नक्सामा समेटेको यी भूभागलाई भारतले विवादित क्षेत्र भएको बताइरहँदा भारतीय संचार माध्यमले भने ‘भारतको लिपुलेक नजिक चिनियाँ सेनाको गतिविधि बढ्यो’ भनेर समाचार सम्प्रेषण गरेका छन्।
भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरलाई जोड्ने सडक निर्माण गरेपछि सो क्षेत्र चर्चाको केन्द्रमा आएको हो । नेपालको गम्भीर आपत्तिका बाबजुद भारतले सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको हो ।
यस विषयमा कुटनीतिक छलफल गर्नुपर्ने नेपालले बताइरहँदा भारतले भने यस विषयमा तत्काल छलफल गर्न आनाकाना गरिरहेको छ। भारतले कोरोना प्रकोप अन्त्य भएपछि मात्र छलफल गर्ने बताएको छ।
यसअघि भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूभागलाई समेटेपछि नेपालले आपत्ति जनाएको थियो । सीमा समस्या समाधानका लागि वार्तामा बस्न लगातार नेपालले जोड दिँदै आए पनि भारतले कोरोना संकट समाधान भएपछि मात्र वार्तामा बस्ने जवाफ दिएको थियो ।
तर त्यसबीचमै भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि भने नेपालले पनि आफ्नो प्रशासनिक र राजनीतिक नक्सा संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा समेटेपछि नेपाल–भारत सीमा विवादले दुई देशबीच कुटनीतिक सम्वादहीनताको अवस्था सिर्जना गरेको छ ।
पछिल्लो समय नेपालले कालापानी नजिकै सशस्त्र प्रहरी बल तैनाथ गर्न थालेको र चीनले पनि लिपुलेक नजिकै एक हजारको हाराहारीमा सैनिक तैनाथ गरेको अवस्थालाई भारतीय मिडियाले आशंकाको नजरले व्याख्या गरेका छन् ।
उल्लेखनीय छ, भारत र चीनबीच करिब तीन महिनादेखि लद्दाख क्षेत्रमा सैन्य तनाव जारी छ । गत जुन १५ मा सीमा क्षेत्रमा दुई देशका सेनाबीच हिंस्रक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । पछिल्लो समय दुई देशबीच भएको कयौं चरणको वार्तापछि उक्त क्षेत्रबाट दुवै मुलुकका सेना पछाडि हटेको भनिए पनि अवस्था सामान्य भइसकेको छैन ।
यही अवस्थामा भारतीय मिडियाले भारतका शीर्ष सैन्य कमाण्डरलाई उद्धृत गर्दै लिपुलेक नजिकै ठूलो संख्यामा चिनियाँ सैनिक देखिएको समाचार प्रकाशमा ल्याएका हुन् । हाल चीन र भारतबीच सीमा विवाद उत्कर्षमा पुगेको छ। साथै नेपाल चीनको कठपुतली बनेको भारतीय अरोप छ|