१४ बैशाख २०८१, शुक्रबार

सुनीलबहादुर थापा भोलि कांग्रेसमा प्रवेश गर्दै, सहमहामन्त्री हुने

sunil bahadur thapa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनील थापा नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।

उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

थापासहितको टोली नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा  मंगलबार दिउँसो ३ बजे हुने एक कार्यक्रम मार्फत् कांग्रेसमा प्रवेश गर्न लागेकोे हो। सहमहामन्त्रीको दाबी गरेका थापालाई उनले पाउने पदको भने अझै टुंगो नलागेको बताइएको छ। थापा निकट किरण गिरीले भने, ‘मंगलबार प्रवेश गर्नेमात्रै कार्य हुन्छ। पदीय जिम्मेवारी भोली घोषणा हुँदैन।’ 

प्रवेश गरिसकेपछि पदीय जिम्मेवारीको छलफल हुने उनले जानकारी दिए। गिरीले वार्ता सकरात्मक रहेको जनाउँदै सम्मानजनक जिम्मेवारी पाउने गरी प्रवेश हुन लागेको बताए। 

स्रोतका अनुसार कांग्रेसमा थापालाई पदाधिकारी बनाइनेछ भने केहीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ ।

थापाले राप्रपामा महामन्त्री भएकाले त्यही पद पाउनुपर्ने माग राखेका थिए । तर, सहमहामन्त्री बनाउने सम्भावना रहेको कांग्रेस स्रोतले बतायो ।

राप्रपाका संस्थापका नेता सूर्यबहादुर थापाका छोरासमेत रहेका थापा पूर्वमन्त्री समेत हुन्। थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए ।

यस्तै थापाले आफूसँगै कांग्रेस प्रवेश गर्ने १३ जनालाई पार्टी केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरेका थिए । तर, तीनदेखि पाँचजनालाई केन्द्रीय सदस्य बनाएर अरुलाई अन्य जिम्मेवारी दिइने देउवा निकट एक नेताले बताए ।

सुरुमा थापासहित ३० जना नेता कार्यकर्ताले राप्रपाबाट संयुक्त राजीनामाको घोषणा गरेपछि मालीगाउँस्थित थापानिवासमा आइतबारदेखि भिडभाड बढेको छ ।

राप्रपाबाट दिक्क भएका अरु पनि नेता कार्यकर्ताहरुले पार्टी छाड्ने प्रतिवद्धता जनाएको स्रोतले बतायो ।

स्रोतका अनुसार दोस्रो चरणमा राप्रपा परित्याग गर्नेहरुमा मोरङका रामकृष्ण भट्टराई, अशोक मिश्र, गोपाल बहादुर दाहाल, गोपाल खड्का गुरुप्रसाद सञ्जेल कृष्णबहादुर भट्टराई, रामकृष्ण सुवेदी, देवी प्रसाद प्रसाई, मोहम्मद शैलुन मिया, अनन्त भट्टराई, लक्ष्मण थापा ठहर सिंह दाहाल, लिलमबहादुर भट्टराई र रुद्रबहादुर कार्की छन् ।

त्यसैगरी डा. सुरेश बस्नेत (भोजपुर), प्रतिमा राणा क्षेत्री (रुपन्देही), उर्किन शेर्पा (सिन्धुपाल्चोक), टंक उप्रेती (झापा), प्रताप पाख्रिन (पर्सा), केदार कार्की (रामेछाप) राजकुमार तामाङ भोजपुर लगायतका नेता कार्यकर्ताहरुले राप्रपा परित्याग गर्ने प्रतिवद्धता जनाएको स्रोतले बतायो ।

उता राप्रपाले थापासँग कांग्रेसमा जान लागेका केही नेताहरुलाई फर्काउने प्रयास पनि गरिराखेको नेताहरु बताउँछन् । बृजुलाल यावद र आशाराम चौधरीहरुलाई फर्काउने कोसिस भए पनि उनीहरु सोमबार साँझसम्म राप्रपामा र्फकन मानेका छैनन् ।

राप्रपालाई ठूलो असर नपर्ने दाबी

यसैवीच, पार्टी परित्याग गर्ने सुनीलबहादुर थापाको निर्णयले मनोवैज्ञानिकरुपमा केही प्रभाव पारे पनि राप्रपाको संगठनलाई खासै ठूलो असर नपुग्ने राप्रपा नेता मोहन श्रेष्ठले बताए ।

‘स्व. सूर्यबहादुर थापा पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘सुनीलजीले आफ्ना पिताजीको बिरासतलाई निरन्तरता दिनुभएको भए राम्रो हुन्थ्यो ।’

श्रेष्ठले अगाडि भने, ‘तर, राप्रपाभित्रै बसेर गणतन्त्रको कुरा गर्नुचाहिँ पुरुषले गर्भ बोक्न खोज्नुजस्तै हो ।’