७ बैशाख २०८१, शुक्रबार

सुनसरीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप, गोली चल्यो

apf border
सांकेतिक तस्विर

सुनसरीमा सशस्त्र प्रहरी बल र तस्कर समूह बीच झडप भएको छ । झडपमा सशस्त्र प्रहरीका जवानसहित दुईजना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन ।

तस्कर समूहले हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहजब जट घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट जवान जीवराज विशंखे घाइते भएका छन् ।

पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका उपरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

गएराती हरिनगरा गाउँपालिका–७ जटबरा स्थित दशगजामा भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेको समूहलाई बिओपी घुस्कीबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिन खोजेको थियो ।

उनका अनुसार शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण भएको थियो । सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाइ छ ।

तस्कर समूहले बाँस र ढुंगा प्रहार गर्दै सशस्त्रको हतियार खोस्ने प्रयार गरेका थिए । स्थिति नियन्त्रणमा लिन एक राउण्ड गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । घाइते दुवैको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीमा यो लगातर दोस्रो गोली चलेको घटना हो । बिहीबार राति करिब ११ बजे सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीटंकीमा नेपाल प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको थियो ।