१६ चैत्र २०८०, शुक्रबार

तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी निर्माण सम्पन्न

610e7698aa5cc tinkar

दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी (बीओपी) निर्माण सम्पन्न भएको छ । सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको निर्माण कार्यको समेत जिम्मेवारी पाउनुभएका तिङ्करका स्थानीय योगेश बोहराले जानकारी दिनुभयो ।

सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरिएको थियो । सामान पुगेको एक महिनामै भवन निर्माणको काम सकिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण खलंगा दार्चुलाका गणपति एसपी नरेन्द्र बमले जानकारी दिनुभयो ।

बीओपीको दुई वटा भवन (ब्लक) संगै भान्सा र शौचालय निर्माण गरिएको छ । बीओपीको भवन तिङ्कर भन्सारको छियालेक क्षेत्रको जमिनमा निर्माण गरिएको एसपी बमले बताउनुभयो । बीओपी भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको थियो ।

तिङ्कर गाउँबाट दुई किलोमिटरको दुरी छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको सीमा चौकी रहेको छ । छियालेक भन्दा माथि मानव बस्ती छैन । तिङ्करबाट झण्डै पाँच घण्टाको उकालो पैदल यात्रा गरेपछि नेपाल र चीनको सिमाना छुट्याउने टिंकर भञ्ज्याङको एक नम्बर पिलर आउँछ । सीमामा सशस्त्र प्रहरीको उपस्थिति भएपछि टिंकर भञ्ज्याङसम्म बेला बेला सुरक्षा गस्ती हुने गरेको छ ।

तिङ्कर भन्दा तल दार्चुलाको कालापानी नजिक छाङरु गाउँमा सशस्त्र प्रहरीको गुल्म भवन निर्माणको काम भइरहेको छ । गत वर्ष सम्झौता भएको भवन निर्माणको काम सम्झौता अवधि सम्पन्न भएपनि निर्माण सम्पन्न भएको छैन् । हिउँदमा हिमपातका कारण काम गर्न नसकिएकोले काममा ढिलाइ भएको निर्माण कम्पनिले जनाएको छ । अहिले गुल्म भवनको एक तला ठड्याइएको छ । भवनमा प्रयोग भएको काठको विषयमा विवाद भइरहेको छ ।

सशस्त्र प्रहरीको छाङरु गुल्म निर्माणका लागि अवैध रुपमा पाँच सयभन्दा बढी गोब्रे सल्लाका रुखहरु काटिएको स्थानीयले गुनासो गरेका छन् । अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने वन क्षेत्रबाट केही स्थानीयको मिलेमतोमा भवन निर्माणको जिम्मा पाएको चन्द्रा एण्ड बसन्त ग्वाल्लेक नाती जेभी कम्पनीले सयौं रुखहरु काटेको तथ्य बाहिरिएको छ । अनुमति विना रुख काटिएको विषयमा अनुसन्धान थालेको अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताउनुभएको छ ।

अवैध रुपमा पाँच सयभन्दा बढी रुखहरु ढालेपछि ठेकेदार कम्पनीले सरकारी निकायसँग अनुमतिको प्रक्रिया खोजिरहेको छ । अवैध रुपमा सयौं रुखहरु ढालिएको विषयमा अनुसन्धान थालिएको भनिए पनि ठेकेदार कम्पनीले अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत नै सरकारसँग रुख कटानको अनुमति मागेको हो ।

अवैध रुपमा रुखहरु काटिएको जानकारी सार्वजनिक भएपछि संरक्षण क्षेत्रले ठेकेदार कम्पनीलाई असार १८ गते पत्र लेखेको एक कर्मचारीले बताउनुभयो । पत्रमा भवन निर्माणमा प्रयोग भइरहेको काठको स्रोत खुलाउन भनिएको छ ।

सशस्त्र प्रहरीको भवन निर्माणमा एकैपटक सयौं रुखहरु ढालिएपछि छाङरु गाउँका स्थानीयहरु आक्रोसित भएका छन् । ठेकेदार कम्पनीले गतवर्ष छाङरुका तीनजना स्थानीयसंग काठ सापटी लिएर काम भइरहेको जनाएको छ ।

छाङरुमा सशस्त्र प्रहरीको गुल्म हालसम्म भाडाको भवनमा बसिरहेको छ । नेपाल सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरी बाह्रैमास व्याँसमा बसेको हो ।

दार्चुला सदरमुकाम खलंगामा सशस्त्रको गण र छाङरुमा गुल्म बसेको छ । यस्तै लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जोलजिवि, महाकाली नगरपालिकाको दत्तु, व्यास गाउँपालिकाको दुम्लिङ र तिङ्करमा बीओपी स्थापना गरिएको छ ।

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिक कौँवामा बीओपी राख्ने भनिए पनि अहिलेसम्म बीओपी स्थापना भएको छैन् । भूगोल नक्सामा समेटिएपनि अतिक्रमित भूमि फिर्ताका लागि भारतसंग परिणाममुखी कुटनीतिक पहल नभएको व्यासवासीको गुनासो छ ।