१५ चैत्र २०८०, बिहीबार

काँकरभिट्टा नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी !

Nepal Police APF

झापामा नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच विवाद भएको छ । गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको हो।

मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा दुई सुरक्षा निकायबीच विवाद पछि घम्साघम्सी भएको थियो। सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा धकेलाधकेल भएको स्रोतको दाबी छ।

प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्रले रोकेपछि विवाद भएको बताइएको छ । नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमाथि हातपात भएको स्रोतको दाबी छ।

यसबारे झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालसँग बुझ्दा उनले दुई सुरक्षा निकायबीच सामान्य बिबाद भएको बताए। तर प्रमुख जिल्ला अधिकारी रिजालले सुपारीको विवाद नभएको दाबी गरे ।

उनले भने, “सादा पोशाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चिनजान नहुँदा सामान्य कुराकानी जस्तो भएको हो । त्यस्तो कुनै घटना होइन । दुवै सुरक्षा निकायका प्रमुखले त्यहाँ पुगेर जानकारी लिएका छन् । ठुलो विषय होइन ।”

‘ड्युटीमा रहेका सादा पोशाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चिनजान नहुँदा सामान्य बिबाद भएको हो। झडप वा कुटपिट भएको होइन,’ उनले भने।