८ बैशाख २०८१, शनिबार

चोरी गर्न आएको ठानेर कुटपिट गर्दा निर्दोष व्यक्ति मारिए

crime

गएराती तार्केश्वर नगरपालिका–५ गोलढुङ्गामा रक्सी खाएर चोरी गर्न आएको व्यक्ति ठानेर सर्वसाधारणले कुटपिट गर्न थालेपछि एकजना निर्दोष व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भई कपुरधारा बस्दै आएका छिरिङ लामा छन् ।

अर्का एकजना दार्जे तामाङ भन्ने व्यक्ति घाइते भएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार घटना तारकेश्वर नगरपालिका-५, गोलढुंगाको हो । मध्यराति दुईजना मादक पदार्थ सेवन गरेर गएपछि एक घरको कुकुर भुकेको थियो ।

त्यसक्रममा उनीहरुले पनि होल्ला गर्न थालेपछि परिवारका व्यक्ति पनि बाहिर निस्किएका थिए । र, विवाद बढेको थियो ।

पछि उनीहरु भागेपछि चोर, चोर भन्दै कराएपछि सर्वसाधारणले उनलाई ढुंगा हानेको पाइएको प्रहरीले जनाएको छ । बालाजुका डीएसपी रंजितसिंह राठौरले बताएअनुसार उनको टाउकोमा चोट लागेको पाइएको छ।

‘मध्यराति चोर आयो भनेर टोल नै उठेर कुटपिट भएछ,’ एसएसपी ज्ञवालीले भने, ‘यद्यपी उनीहरु चोर्ने नियत वा के हिसाबले त्यहाँ पुगे अनुसन्धान भइरहेको छ ।’ 

घटनाबारे शुक्रबार बिहान मात्र प्रहरीलाई स्थानीयले खबर गरेको बालाजु वृत्तका प्रमुख डीएसपी रन्जित सिंह राठौरले बताए । घटनालगत्तै बालाजु वृत्तको प्रहरी घटनास्थल पुगेको थियो । अधिक रक्तश्रावको कारण तामाङको मृत्यु भएको उनको भनाइ छ ।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीले लामालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको थियो । तर, अस्पतालले मृत घोषित गर्‍यो । अहिले दुई जनालाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको ज्ञवालीले बताए ।