६ चैत्र २०८०, मंगलवार

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा शव भेटियो

crime in jungle

ललितपुरको अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको हो । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो ।

हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिएका छन् ।

हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार हत्याको कारणबारे अनुसन्धान भइरहेको छ । ज्यानसम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने बताए ।

    सम्बन्धित समाचार...