१६ बैशाख २०८१, आईतवार

कचनकवलमा सशस्त्र प्रहरीको बेओपी उद्घाटन

bop jhapa

झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको सीमावर्ती केचनामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बेओपी)–को आज उद्घाटन गरिएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले एक समारोहका बिच बेओपी भवनको उद्घाटन गर्नुभएको हो ।

भारतको कादो गाउँसँग सीमा जोडिएको केचनामा सशस्त्र प्रहरीको ३४ जनाको टुकडी रहने गरी भवन निर्माण गरिएको थियो । स्थानीय यदुनन्दन गणेशले निःशुल्क दान गरेको ३ कट्ठा क्षेत्रफलको जग्गामा १ करोड ३९ लाख १७ हजार ५६४ रुपैयाँको सम्झौता अनुसार एउटा प्रमुख आवास, एउटा ब्यारेक, एउटा भान्सा घर शौचालय निर्माण भएको बेओपी इन्चार्ज प्रहरी निरीक्षक भक्तबहादुर थापाले जानकारी दिनु भयो ।

बीओपी अन्तर्गत साना ठूला गरी १४८ वटा सीमा पिलरको सुरक्षा, अवैध आयात–निर्यात एवम् अपराध नियन्त्रण पर्ने थापाले बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, न. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव निरीक्षक कमल गिरी, का. मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराई लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नं २ गण झापाका गणपति प्रदीपसिंह कार्कीले जानकारी दिनुभयो ।