११ बैशाख २०८१, मंगलवार

भोलिदेखि साझाले ८ वटा रुटमा २६ वटा बस चलाउने

Sajha yatayat bus

भोलि बिहीबारदेखि साझाले काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ।

साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिए ।

सरकारले निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै साझाले साउन १ देखि बस सञ्चालन गर्न लागेको अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ ।

सुरुआतका क्रममा २६ वटा बसले सेवा सुरु गर्ने र पछि यात्रुको चाप बढ्दै गएमा अन्य बसहरु पनि सञ्चालन हुने पाण्डेले जानकारी दिए।

सरकारले तोकेका सबै मापदण्ड पालना गरिने पाण्डेय बताउँछन् । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ । ‘सरकारले तोकेका मापदण्ड पुरा गरेर साउन १ देखि उपत्यकाका ८ रुटमा २६ बस सञ्चालन हुने छ’ उनले भने।

‘बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न पनि आग्रह गर्छौं,’ पाण्डेयले भने । यात्रुको चाप हेरेर रुटहरुमा बस थप्दै लैजाने साझाको योजना छ ।

सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् ।

काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।

साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने उनले बताए। यात्रुहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न पनि साझाले आग्रह गरेको छ।

साझाका बसहरु सञ्चालन हुने रुटहरु

  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
  • गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
  • लामाटार, लगनखेल हुँदै रत्नपार्क
  • लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
  • लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
  • रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
  • रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक