१२ बैशाख २०८१, बुधबार

सुन-चाँदी पसलबाट गरगहना तथा नगद चोरी गरेको अभियोगमा ३ जना पक्राउ

prison bars

काठमाडौं उपत्यकाभित्र भएका बिभिन्न सुन-चाँदी पसलहरुको सटर फोडी सुन तथा चाँदीका विभिन्न गरगहना र नगद चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-२ घर भएका ३७ वर्षीय सुमित भन्ने गंगा बहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका-४ घर भएका ४५ वर्षीय बुद्ध बहादुर माझी र उदयपुर रामपुर गाउँपालिका-३ घर भएका ४९ बर्षीय बिक्रम भन्ने जङ्ग बहादुर माझी रहेका छन् ।

२०७६ फागुन १८ गते राति काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठको पबि ज्वेलर्समा रहेका १ किलो १ सय ५० ग्राम बराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्राम बराबरको चाँदीका गहना र नगद समेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले आइतबार मोरङ उर्लाबारीबाट गंगा बहादुर र बुद्ध बहादुरलाई तथा काठमाडौं दरबारमार्गबाट जङ्गबहादुरलाई पक्राउ गरेको हो ।

विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्र भएका बिभिन्न सुन-चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने व्यक्तिहरुको खोजी गर्ने क्रममा कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाई साईकल लिई बिभिन्न सुन-चाँदी पसलहरुको हप्ता दिनसम्म रेकि गरी बिशेषत: रातको समयमा धेरै मानिसहरुको चहलपहल नहुने स्थानमा रहेको सुन-चाँदी पसलको सटर फोडी चोरी गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

चोरी पश्चात घटनास्थल भित्र रहेको सीसीटीभीको डीभीआर समेत छोराहरुले लगेका थिए । दुईवटा समूहले जेलमा बस्दा चिनजानको आधारमा छुटे पश्चात पुन:जम्माभई जेलबाट छुटेको एक महिना नबित्दै उक्त घटनाहरु घटाएका हुन । नाईकेहरुले आफ्नो म्यादीहरुलाई बोलाई अब अन्तिम पटक ठुलो काम गर्ने भन्दै घटना घटाएको पाइएको हो ।

चोरी कार्य छोडी डण्डी फर्मा, लेबर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादीहरुलाई समेत कन्भिन्स गरी पुन: चोरी कार्यमा लगाईको पाइएको छ ।

चोरी गर्ने चोरहरुको उमेर समूह ५०-५५ बर्षको र पुराना चोरहरुले २०-२१ बर्षको चोरलाई समेत प्रयोग गरेको पाइएको छ ।

चोरी गरेका सामानहरु भारतीय मुलका एकजना मुख्य नाईके चोरले बेचबिखन गरी फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा संलग्न रहेका अभियुक्तहरुमध्ये एकजना २०७६ चैत ९ गते चोरी कार्यमा पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरुको खोजी कार्य भईरहेको जनाइएको छ ।