१४ बैशाख २०८१, शुक्रबार

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

mask

मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई सोमबार निर्देशन दिएको हो। असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको हो । 

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जानकारी गृह मन्त्रालयका प्रवक्ताले दिए ।

उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यो अहिले गरिएको निर्णय नभइ पुरानै हाे ।’

एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएपनि कार्यान्वयन नभएको भनाइ थियो । सोही अनुरुप निर्देशन गरिएको हाे ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताए ।