६ चैत्र २०८०, मंगलवार

पहिरोले गर्दा अरुण नदी आंशिक थुनिएर ताल बन्यो

arun river

आइतबार बिहान साढे ९ बजेपछि सङ्खुवासभाको मकालु गाउँपालिका २ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ ।

आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सातजना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करिब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ ।

स्थानीय हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । घटनाको विस्तृत जानकारी आइसकेको छैन । प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेंसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई नदीछेउ नजान र सतर्क भएर बस्‍न आग्रह गरेको छ ।