६ बैशाख २०८१, बिहीबार

निरन्तरको वर्षाका कारण आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

Deurali pahiro ejbNxysxws

आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ ।

निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने एक स्थानमा सडकको पूरा भाग नै बगेको छ ।

फिदिम–फालोट सडकअन्तर्गत फालेलुङ–८ आकाशे आसपासमा मात्रै तीन ठाउँमा पहिरो झरेको छ । यस स्थानमा १५ दिनयता सडक अवरुद्ध बनेको छ । “बाटो सफा ग¥यो, एकैछिनमा पहिरो खसेर पुर्छ”, वडा नं ७ का अध्यक्ष शेरबहादुर केरुङले भन्नुभयो, “पानी निरन्तर परिरहेकाले पहिरो झरिरहेको छ ।” केरुङका अनुसार वर्षा कम भएको अवस्थामा समेत सडक सञ्चालन गर्न अझै केही दिन लाग्छ ।

वडा नं ७ र ८ को बीचमा धेरै स्थानमा पहिरो झरेको छ । त्यसमध्ये लिखुरे र लोक्से भन्ने स्थानमा झरेको पहिरो पन्छाउन सके विहीदिनसम्म सवारी सञ्चालन हुन्छ । पहिरो झरेको लिखुरे र लोक्सेका बीचमा पाँच गाडी फसेर एक सातादेखि रोकिएका वडाध्यक्ष केरुङले जानकारी दिनुभयो । प्रशस्तै पानी भएको यस क्षेत्रमा सामान्य वर्षा हुनेबित्तिकै सडकमा भेल बग्ने गर्छ । यो सडक निर्माणाधीन अवस्थामा रहेकाले भित्तापट्टि कटान गरिएका अधिकांश स्थानमा पहिरो झरेको स्थानीयवासीको भनाइ छ ।

सडक अवरुद्ध भएको र निरन्तरको वर्षा भइरहेकाले गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था आउन लागेको वडाध्यक्ष केरुङको भनाइ छ । “पहिरो झरिरहेकाले पन्छाएर सडक सञ्चालन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “सामग्री खरिद गर्न र बिरामीलाई अस्पताल लैजान समस्या भएको छ ।”