२२ मंसिर २०७८, बुधबार

भोलिबाट मौसम सुधार हुने, आज देशका अधिकांश स्थानमा पानी पर्ने

WEATHER rain

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भूभागमा वर्षा हुने बताएको छ ।

अहिले पनि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै आजराति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भोलि दिउँसोदेखि देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो ।

उहाँले भोलिदेखि मौसममा सुधार आउने भन्दै अझै केहिदिन वर्षाको सम्भावना रहेको पनि जानकारी दिनुभयो ।

यस्तै आजराति देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सबै प्रदेशका थोरै– थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु पनि उहाँले आग्रह गर्नुभयो ।

यसैबीच लगातारको झरीपछि आठ जिल्लाका झण्डै ४ सय जनालाई सुरक्षित ठाउँमा सारिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, नवलपरासी सुस्ता पूर्व, नवलपरासी वर्दघाट सुस्ता पश्चिम, चितवन र महोत्तरी लगायतका जिल्लामा झण्डै ४ सय जनालाई सुरक्षित स्थानमा सारिएको हो ।