६ जेष्ठ २०८१, आईतवार

ओली जे चाहन्छन्, पार्टीभित्र त्यही गर्छन् !

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अहिले यति शक्तिशाली छन् कि, उनीविरुद्ध कुनै पनि नेताले तर्क गर्न सक्दैनन् । केन्द्रीय कमिटीबाट महाधिवेशनको निर्णय उल्ट्याउँदै विधान संशोधन गर्दासमेत कसैले आपत्ति जनाउन सकेका छैनन् । निर्वाचनताका युवालाई नेतृत्वमा पुर्‍याउने आश्वासन दिने ओलीका पछिल्ला निर्णय भने आफूमै केन्द्रित छन् ।

नवौं महाधिवेशनले पारित गरेको ७० वर्षे उमेर हदको प्रावधान उल्ट्याउने निर्णयलाई ओलीले यसरी बचाउ गरिरहँदा त्यो प्रावधान किन ल्याइयो र अहिले किन हटाइयो भन्ने एमालेभित्रै चर्चा सुरु भएको छ । तत्कालीन अध्यक्ष झलनाथ खनाल, वामदेव गौतम लगायत नेतालाई आफूभन्दा पहिले नै पार्टीबाट बिदाइ गर्ने मनसायले ओलीले उमेर हदको नीति लिएको कतिपयको बुझाइ छ । नेकपा खारेजीपछि एमालेमा आएको विभाजनले आन्तरिक समीकरणमा केही फेरबदल ल्यायो । त्यसपछि ललितपुरमा भएको विधान महाधिवेशनबाट ७० वर्ष नपुग्दै उमेदवार बन्न पाउने र कार्यकालकै बीचमा उमेर पुगेमा पद छाड्नु नपर्ने गरी विधान संशोधन गरियो ।

१० औं महाधिवेशनमा आफू अनुकूल वातावरण बनाउनकै लागि ओलीले यस्तो व्याख्या गराएका थिए । तर अब यो व्यवस्था आफू र आफ्नाका लागि नै अप्ठ्यारो पर्ने देखेपछि ओलीले त्यसलाई स्थगित गरिदिएका छन् । अब उनमा एउटै व्यक्ति पदाधिकारीमा अनन्त कालसम्म बस्न मिल्ने गरी विधान परिवर्तन गर्ने चाहना देखिएको छ । पार्टी बैठकमा उमेर हद हटाउने ओलीको प्रस्तावमा कसैले असहमति नजनाए पनि केही नेता भित्रभित्रै असन्तुष्ट देखिन्छन् ।

एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै उमेर हदको प्रावधान निलम्बन गरेर पार्टी पंक्तिमा पुर्‍याएको छ । ओली निकट नेताहरुले भने पछिल्लो निर्णयले युवालाई नेतृत्वमा आउन नछेक्ने दाबी गर्छन् ।

उमेर हदमा मात्रै होइन, पार्टीका सबै निर्णयमा ओलीकै बोलवाला चल्छ । नेकपा खारेजीपछि एमालेमै रोकिएका प्रभु साहले चुनावअघि पार्टी छाडे भने पहिले माधव नेपाल निकट भएकै आधारमा घनश्याम भुसाल र भीम रावलले चुनावमा टिकट नै पाएनन् । आलोचक र प्रतिस्पर्धीप्रति असहिष्णु ओलीले विवादित छविका लक्ष्मी महतो कोइरी र एकनाथ ढकाललार्इ टिकट दिए । पार्टीमा दुःख गरेकालार्इ पाखा लगाइएको र अवसरवादीलाई प्रश्रय दिएको भन्दै केही पुराना नेता पनि असन्तुष्ट छन् ।

ओली जे चाहन्छन्, पार्टीभित्र त्यही गर्छन् । आफ्नै बहुमतको सरकार टिकाउन नसकेर संसद विघटन, पार्टी विभाजन र पछिल्लो पटक माओवादीसँग बनेको सत्ता गठबन्धन कायम राख्न नसक्नुमा ओलीको प्रकट भएको छ ।